पाँच अध्यादेश राष्ट्रिय सभामा पनि स्वीकृत

प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो, विधेयक पारित गर्न एक महिनाभन्दा कम समय

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Five Ordinances were also approved in the National Assembly

काठमाडौँ — सरकारले ल्याएका पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएका छन् । प्रतिनिधिसभामा स्वीकार गरिएको एक दिनपछि अध्यादेश बिहीबार राष्ट्रिय सभामा स्वीकृतिका लागि पेस गरिएको थियो । सत्तापक्षका दल एकजुट भएपछि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको हो । 

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश र निजीकरण (पहिलो संशोधन) अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकार गरिएको हो । ती अध्यादेश सरकारले १८ माघमै संसद्मा दर्ता गरेको थियो तर राष्ट्रिय सभामा बहुमत सुनिश्चित गर्न समय लाग्दा एक महिना बितिसकेपछि मात्र सरकारले अघि बढाएको थियो । 

राष्ट्रिय सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश अस्वीकार गरियोस् भनी सांसदहरू वेदुराम भुसाल, मायाप्रसाद शर्मा, नरबहादुर विष्ट र सुरेशकुमार आले मगरले प्रस्ताव राखेका थिए । निजीकरण अध्यादेश अस्वीकार गरियोस् भनी मदनकुमारी शाह र झक्कुप्रसाद सुवेदीले प्रस्ताव राखेका थिए ।

यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई अस्वीकार गरियोस् भनी प्रतिपक्षी सांसदहरू गंगाकुमारी बेलवासे, विष्णुबहादुर विश्वकर्मा, मनरूपा शर्मा र घनश्याम रिजालले प्रस्ताव राखेका थिए । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश अस्वीकार गरियोस् भनी जगप्रसाद शर्मा र राजेन्द्रलक्ष्मी गैरेले प्रस्ताव राखेका थिए । ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । 

अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा सांसदहरूले सरकारको आलोचना गरेका थिए । उनीहरूले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको, संसदीय प्रक्रिया छलेको लगायतका आरोप लगाएका थिए । अध्यादेशमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गर्दा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनी व्यवस्था र आवश्यकताका आधारमा अध्यादेश ल्याइएको बताएका थिए । ‘अध्यादेशले संविधान, कानुन र राष्ट्रिय सभा नियमावलीको व्यवस्था कुनै पनि उल्लंघन गरेको छैन, अक्षरशः अनुसरण गरेको छ,’ उनले भनेका थिए, ‘राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक सञ्चालन नभएको अवस्थामा सरकारले आवश्यक महसुस गर्‍यो भने अध्यादेश आउँछ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेशमा विपक्षी दलहरूको विरोधको कुनै आधार नरहेको बताएका थिए । ‘सरकारले संवैधानिक काम गर्दा सरकार निरंकुश हुन्छ ? यो सरकार लोकतन्त्रलाई विश्वास गर्ने र लोकतन्त्रका लागि लडेका पार्टीले निर्माण गरेको हो । सरकार लोकतन्त्रको मूलभूत सिद्धान्तप्रति प्रतिबद्ध छ,’ उनले भने, ‘अध्यादेशमा समावेश विषयमाथि छलफल गरेर अस्वीकारको औचित्य पुष्टि गर्न सक्नुभएन ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेशलाई पुस १४ र अन्य चार अध्यादेशलाई गत पुस २९ मा जारी गरेका थिए । माघ २ मा जारी भएको भूमिसम्बन्धी अध्यादेश भने हालका लागि थाती रहेको छ । उक्त अध्यादेशमा सरकारलाई समर्थन गरेको जसपा नेपालले आपत्ति जनाएको थियो । जसपा नेपालको सहयोगबिना राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्न बहुमत नपुग्ने भएकाले ‘भद्र सहमति’ गरेर भूमिसम्बन्धी अध्यादेश थाती राखिएको हो । भूमि अध्यादेशमा रहेका जसपा नेपालका असन्तुष्टिलाई प्रतिस्थापन विधेयकबाट सम्बोधन गर्ने, सम्बोधन हुन नसक्ने भए अध्यादेश फिर्ता लिने आश्वास सरकारले दिएको छ । 

राष्ट्रिय सभाबाट अध्यादेश र विधेयक पारित गर्न सरकारलाई जसपा नेपालको सहयोग अत्यावश्यक छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ । राष्ट्रिय सभामा कांग्रेसका १६, एमालेका १० र मनोनीत १ सांसद छन् । ३ सांसद रहेको जसपा नेपाल र १ सांसद रहेको लोसपाले साथ दिएपछि पाँचवटै अध्यादेश स्वीकृत भएका हुन् ।

दुवै सदनबाट अध्यादेश स्वीकार भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ । संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारलाई संसद्बाट प्रतिस्थापन विधेयक पारित गर्न अब एक महिनाभन्दा कम समय छ ।

कान्तिपुर

Link copied successfully