आरोपितहरूबाट १ लाख ४० हजार उठाउने, ५० हजार पञ्चले लिने, २५ हजार मुसहरका अगुवालाई दिने, ४० हजार समन्वय गर्ने स्थानीय रामपुकार मण्डलले लिने र बाँकी २५ हजार पीडित परिवारलाई दिने प्रस्तावसहित मिल्न दबाब आएपछि पीडित युवती झुन्डिएको अवस्थामा फेला परेकी थिइन्
सिरहा — दलित युवतीमाथि बलात्कार गर्ने समूहलाई प्रहरी र अदालतको जिम्मा लगाउनुको सट्टा पञ्चायती बसेर सुनुवाइ गर्ने तथा मिलापत्र गराउनेहरू अझै पनि पक्राउ परेका छैनन् । बलात्कारी समूहमात्र होइन, उनीहरूबाट उठाएको जरिवाना आपसमा बाँडचुँड गर्न योजना बनाउने अगुवाप्रति प्रहरी उदार बनेकाले उनीहरू अहिले भाग्न सफल भएका छन् ।
नवराजपुर–१, भगवतीपुरस्थित मुसहरी टोलकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डल मात्र हिरासतमा छन् । सिरहा–१७ स्थित दसगजा क्षेत्रबाट मण्डललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । बलात्कार घटनाका दुई आरोपित र मिलापत्र गराउन पञ्चायती गरेका पाँच जना अझै फरार छन् ।
१७ वर्षीया रिंकु गत ३० माघमा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसको तीन दिनअघि उनी सामूहिक बलात्कारमा परेकी थिइन् । रिंकु २७ माघको साँझ शौच गर्न घरछेउकै खेततिर जाँदा बलात्कृत भएकी थिइन् । परिवारजनका अनुसार उनी कपडा च्यातिएको, शरीरमा माटो लागेको अवस्थामा भोलिपल्ट बिहान ४ बजे घर फर्केकी थिइन् । पेट समातेर रोइरहेको देखेर आमाले सोधखोज गर्दा आफू बलात्कृत भएको उनले सुनाएकी थिइन् । शौच गरिरहेका बेला अचानक रूपेश आएर शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको र नमान्दा अरू आएर करेसाबारीमा लगी पालैपालो करणी गरेको उनको भनाइ थियो ।
गाउँमा हल्ला भएपछि पीडितलाई प्रहरीमा पठाउनुको साटो मिलाउन गाउँमै पञ्चायती गरिएको थियो । करिब ३० स्थानीयको सहभागितामा बसेको पञ्चायतीले आरोपितले एक लाख ५१ हजार रुपैयाँ रिंकुको परिवारलाई दिने र पीडितको परिवार प्रहरीमा नजाने निर्णय सुनाएको थियो । त्यसपछि रूपेशका आफन्तले आग्रह गरेपछि जरिवाना एक लाख ४० हजारमा झारिएको थियो । पीडितलाई दिने भनिएको रकम पनि पञ्चायतीका अगुवाले बाँडचुँड गर्न खोजेका थिए ।
रिंकुकुमारीकी काकी कागतीदेवी सदाका अनुसार आरोपित रूपेशका आफन्त रामपुकार मण्डलले ३० माघको बिहान घरमै आएर लेनदेनका लागि दबाब दिएका थिए । उनले एक लाख ४० हजारबाट ४० हजार आफूले लिने, ५० हजार पञ्चले, २५ हजार मुसहरका अगुवाले र २५ हजार रिंकुको परिवारले पाउने गरी मिल्न र बढी बोले ठीक नहुने धम्की दिएको पीडित परिवारको भनाइ छ ।
पैसा तिर्ने विषयमा पनि आरोपित समूहबीच विवाद र कुटाकुट भएको थियो । उता सम्झौता गर्न पीडक पक्षबाट तारन्तर धम्की आएपछि घरमा कोही नभएकै बेला रिंकु माघ ३० को साँझ झुन्डिएको भेटिएकी थिइन् । ‘मिल्नू भनेर धम्की आइरहेको थियो, पञ्चायतीपछि रिंकु पनि डराएकी थिई,’ आमा सीतादेवी सदाले भनिन् ।
रिंकु मृत भेटिएको भोलिपल्ट काका रामसेवक सदा मुसहर जाहेरी दिन इलाका प्रहरी कार्यालय पुगेका थिए । उनले आरोपित रूपेश, चन्दन र रामविनयविरुद्ध जबर्जस्ती करणी तथा धम्की दिने रामपुकारविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिन खोजेका थिए । मुद्दा फाँटका प्रहरीले नाम कम गरेर ल्याउन भनेपछि अपहरण तथा बलात्कार आरोपित रूपेश र धम्की दिने रामपुकारविरुद्ध मात्र जाहेरी दिन खोजिएको थियो तर दर्ता भएन । त्यसपछि प्रहरी आफैंले रूपेशविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लेखाएर दर्ता गरेको रामसेवकको भनाइ छ ।
सार्वजनिक आलोचना बढेपछि प्रहरीले पूरक जाहेरी पनि लिएको छ । त्यसमा बलात्कारका मुख्य आरोपितका रूपमा रूपेशसँगै चन्दन साह र रामविनय मण्डललाई किटान गरिएको छ भने घटना गाउँमै मिलाउन पञ्चायती गर्ने वडा सदस्य नथुनी साहसँगै पूर्ववडा सदस्य रामप्रीत साह तथा स्थानीय रामपुकार मण्डल, रामकृपाल मण्डल र विन्देश्वर साहको नाम उल्लेख छ ।
जाहेरीमा उल्लेख नगरिएका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासलाई प्रहरीले फागुन ११ मा पक्राउ गरेको थियो । उनीहरू जाहेरीमा किटान गरिएका आरोपितसँग निकट देखिएको र पञ्चायतीमा पनि भूमिका खेलेको प्रहरीको भनाइ छ । बुधबार समातिएका रूपेशमाथि सिरहा जिल्ला अदालतबाट दुई दिनको म्याद लिएर विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
रूपेश पक्राउ परेसँगै अन्य आरोपितको खोजी गर्न पनि सहज हुने विश्वास प्रहरीको छ । ‘घटनाका मुख्य आरोपित पक्राउ पर्नु नै अहिलेका लागि ठूलो उपलब्धि हो,’ घटना छानबिनका लागि गठित समितिका संयोजक तथा मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले भने, ‘बाँकी रहेका सातै जनालाई प्रहरीको विशेष टोलीले विभिन्न स्थानमा खोजी गरिरहेको छ ।’
यो घटनामा सार्वजनिक बहस भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले ६ फागुनमा एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । अहिले प्रदेश, जिल्ला र इलाका प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । घटना सार्वजनिक भएदेखि नै रिंकुको न्यायका लागि प्रदर्शन हुँदै आएको छ । गृहमन्त्री रमेश लेखकले गत आइतबार राष्ट्रिय सभामा बोल्दै यस घटनाका दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।
यस घटनाले समाज र राज्यको कुरूप अनुहार छताछुल्ल पारिदिएको सामाजिक अभियन्ता तथा लेखक रामरिझन यादव बताउँछन् । घटना सार्वजनिक भएपछि कानुनी लडाइँमा सहयोग गर्नुपर्ने समाजले पञ्चायतीका नाममा पीडितमाथि थप अत्याचार गरेको र सबै कुरा सार्वजनिक हुँदा पनि राज्य रमिते बनेको उनको आरोप छ । ‘पीडितको घाउमा मलम लगाउने दायित्व भएकाहरूले नुन हाल्ने काम गरे, यो प्रवृत्ति मधेशमा व्याप्त छ,’ उनले भने, ‘राज्यका संयन्त्र निकम्मा सावित भइरहेका बेला मिडिया पीडितको आवाज बनिरहेका छन् ।’
रिंकुको परिवारमा अब आमा सीतादेवी, बुबा बिजुल, दाजु वीरेन्द्र र भाइ भुला गरी चार जना छन् । रोजगारीका सिलसिलामा बिजुल भारत र वीरेन्द्र भैरहवामा बस्दै आएका थिए । रिंकुको मृत्युपछि उनीहरू घर आइपुगेका छन् । मजदुरी छाडेर घर आएकाले अहिले उनीहरूको आम्दानीको कुनै स्रोत छैन ।
आफ्नै समुदायका स्थानीयको सहयोगले चुलो बलिरहेको बिजुल बताउँछन् । आफ्नो घरमा नेता र ठूला मान्छेको लर्को लागे पनि राहत तथा अन्य सहयोग कतैबाट नपाएको उनले सुनाए । गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले पालिकाबाट किरिया खर्च र राहत सामग्री उपलब्ध गराउने निर्णय भएको तर प्राविधिक कारणले ढिलाइ भएको बताए ।
अपरिचित व्यक्ति तथा पीडकका आफन्तले घरमै आएर धम्की दिन थालेपछि पीडित परिवार केही समय गाउँकै आफन्त रामआशिष सदाकहाँ सरेको थियो ।
