अहिलेको सरकारबाट विकासको अपेक्षा गर्नु दिवा सपना : अध्यक्ष दाहाल

फाल्गुन २२, २०८१

सन्तोष सिंह

Expecting development from the current government is a day dream: President Dahal

धनुषा — माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारबाट विकासको अपेक्षा गर्नु दिवा सपना मात्र हुने बताएका छन् ।

माओवादीले थालेको हुलाकी राजमार्गकेन्द्रित अभियान अन्तर्गत महोत्तरीको जलेश्वर पुगेका माओवादी अध्यक्ष दाहालले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई मात्र जोगाउन बनेको सरकारबाट विकासको सपना देख्नु दिवा सपना मात्र हुने बताए ।

जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले महोत्तरीको भिठ्ठामोडमा सुख्खा बन्दरगाह निर्माणका लागि ज्ञापनपत्र बुझाएको तर प्रगति केही नभएको जानकारी गराएपछि जवाफमा दाहालले आफू प्रधानमन्त्री भएका बेला महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए पनि वर्तमान सरकारको समयमा सो प्रक्रिया रोकिएको बताए ।

हुलाकी राजमार्गकेन्द्रित अभियानमा सहभागी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख अग्नि सापकोटाले सरकार भ्रष्टाचारीहरुलाई बचाउन र इमानदारलाई तह लगाउन लागेको आरोप लगाए । उनले देशलाई लोडसेडिङ मुक्त बनाएको र हमेशा देशको हितमा काम गर्ने नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले अनावश्यक दु:ख दिएर फसाउन खोजेको आरोप लगाए ।

माओवादीले थालेको हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत महोत्तरीको जलेश्वर पुगेका माओवादी अध्यक्ष दाहालसहितको टोली महोत्तरीका विभिन्न भागको अवलोकन गरेर सरोकारवाला निकायहरुसँग छलफल गरेका छन् । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully