प्रकृति लम्साल मृत्यु प्रकरण : भारतीय मानवअधिकार आयोगले दियो उच्चस्तरीय छानबिनको निर्देशन

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Prakriti Lamsal death case: Human Rights Commission of India orders a high-level inquiry

काठमाडौँ — गत फेब्रुअरी १६ मा भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको घटनामा भारतको राष्ट्रिय मानवअधिकार आयोगले उच्चस्तरीय छानबिनका लागि निर्देशन दिएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगले फेब्रुअरी २८ मा महानिर्देशक (अनुसन्धान) लाई आयोगको अनुसन्धान महाशाखा र कानुन महाशाखाका अधिकारीहरूको टोलीलाई केआईआईटी विश्वविद्यालयमा स्थलगत छानबिन गर्न र मार्च १०, २०२५ सम्ममा आयोगलाई आफ्नो छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

यसका साथै मुख्य अधिकार प्यानलले आफ्नो जाँच टिमलाई संस्थानद्वारा आदिवासी छात्रामाथि हुने शोषण र भूमिको अवैध अधिग्रहणजस्ता मुद्दाहरुमा पनि छानबिन गर्न भनेको छ । 

लम्सालले उनका प्रेमी भनिएका अद्विक श्रीवास्तवबाट दुर्व्यवहारको सामना गर्नुपरेको र विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) ले उनको उजुरीलाई बेवास्ता गरेको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको थियो । 

प्रकृतिको मृत्युपछि आन्दोलित नेपाली विद्यार्थीले न्यायको माग गरेका थिए । तर त्यहाँका अधिकारी र सुरक्षा गार्डले मौखिक दुर्व्यवहार, धम्की र शारीरिक आक्रमणसमेत गरेको निवेदनमा उल्लेख थियो । यसका साथै निवेदनमा विश्वविद्यालयको सामाजिक विज्ञान संस्थानमा आदिवासी बालबालिकामाथि शोषणा, उनीहरुको मानअधिकार उल्लंघन र अवैध जग्गा अधिग्रहणमा संलग्न भएको आरोप लगाइएकाले छानबिन गर्न माग गरिएको थियो । 

अब, मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै आयोगले रजिस्ट्रार (कानुन) लाई केआईआईटी विश्वविद्यालय, भुवनेश्वरमा छानबिनको लागि अगाडि बढ्न निर्देशन दिएको छ। 

टोलीमा अनुसन्धान विभागका दुई अधिकारीहरू, एक जना वरिष्ठ प्रहरी अधीक्षक पदभन्दा कम नभएका र एक जना कानुन विभागका अधिकारी समावेश छन् । टोलीले मार्च २०२५ सम्ममा आयोगलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउनेछ ।

अनुसन्धानको क्रममा केआईआईटीले भनेको छ, ‘यो मुद्दालाई गहन अनुसन्धानको लागि तुरुन्तै प्रहरीलाई हस्तान्तरण गरेका थियौं र गल्ती गर्ने अधिकारीहरूविरुद्ध कारबाही पनि गरिएको छ । विश्वविद्यालयले गरेको कारबाही र उनीहरूको सुरक्षाको लागि गरिएको व्यवस्थाबाट सन्तुष्ट भएर ४०० भन्दा बढी नेपाली विद्यार्थीहरू पनि क्याम्पसमा फर्किसकेका छन् ।’

यस्तै, केआईआईटीका उपकुलपति र रजिस्ट्रारले सार्वजनिक रुपमा माफी मागे पनि  केआईआईटी, केआईएसएस र यसका संस्थापक अच्युत सामन्तविरुद्ध निरन्तर नकारात्मक अभियान चलाउनु गम्भीर चिन्ताको रहेको विश्वविद्यालयले बताएको छ ।

कान्तिपुर

Link copied successfully