प्रधानमन्त्रीलाई प्रश्न गर्दा 'हिटलर र तानाशाह' शब्द प्रयोग गर्ने दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Parliament entry pass suspended for two journalists who used the words 'Hitler and dictator' while questioning the Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्‌बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो । 

संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकपछि बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लघंन गरेको संघीय स‌ंसद् सचिवालयको आरोप छ।

सचिवालयका अनुसार पत्रकार श्रेष्ठ र ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा 'तानाशाह' र 'हिटलर' जस्ता अमर्यादित शब्दहरू प्रयोग गरेका थिए ।

संसद्का महासचिवको निर्णयअनुसार उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ ।

प्रकाश ओली सुनौलो नेपाल र किशोर श्रेष्ठ युवा मन नेपालमा कार्यरत पत्रकार हुन् । 

कान्तिपुर

Link copied successfully