काठमाडौँ — सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा डा. देवकोटालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रालयको सचिवका रूपमा कार्यरत डा. रोशन पोखरेल यही फागुन ११ गते आइतबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि नयाँ सचिव नियुक्त गरिएको हो ।
स्वास्थ्य सचिवका लागि बढुवा समितिले वरीयताका आधारमा डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।
०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औं तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका उनले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका हुन् ।
