केआईआईटीका ८० प्रतिशत नेपाली विद्यार्थी कलेज फर्किए

भारतको राष्ट्रिय मानवअधिकार आयोगद्वारा घटनाको स्थलगत अनुसन्धान सुरु

फाल्गुन २१, २०८१

राजेश मिश्र

80 percent of Nepalese students from KIIT returned to college

काठमाडौँ — नेपाली छात्रा प्रकृति लम्सालको होस्टेलमा भएको शंकास्पद मृत्युको अनुसन्धान माग गर्दा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र दमनका कारण भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा उत्पन्न तनाव साम्य हुँदै गएको छ ।

घटनाका क्रममा धरपकड गर्दै निकालिएका र कलेज छाड्न बाध्य भएका करिब ८० प्रतिशत नेपाली विद्यार्थी होस्टेल फर्किएका छन् ।

विश्वविद्यालय प्रशासनका अनुसार बुधबार साँझसम्म ९ सय १३ नेपाली विद्यार्थी फर्किएका छन् । त्यहाँ १ हजार १ सय ६९ नेपाली विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालय प्रशासनले विद्यार्थी तथा अभिभावकसँग व्यक्ति–व्यक्ति सम्पर्क गरेर घटनाप्रति माफी माग्दै फर्कन आग्रह गरेपछि स्थिति सहज बन्दै गएको हो । केआईआईटीले कलेज फर्काउन ९ सय नेपाली विद्यार्थीका लागि हवाई टिकटसमेत काटिदिएको जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. शरणजित सिंहले बुधबार दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालाई गरेको पत्राचारमा ८ सय २८ नेपाली विद्यार्थी होस्टेलमा रहेको तथा ८५ नेपाली विद्यार्थी इन्टर्नसिपमा बाहिर रहेको उल्लेख छ । बाँकी विद्यार्थी पनि फर्कने क्रममा रहेको उनले जनाएका छन् ।

‘नेपाली विद्यार्थीको शैक्षिक क्रियाकलाप, परीक्षा र उनीहरूको रोजगारी कार्यक्रम सुचारु भइसकेको छ,’ उनले पत्रमा भनेका छन्, ‘अतिरिक्त कक्षा र परीक्षा दिन नभ्याएका विद्यार्थीका लागि पुनः परीक्षाको कार्यतालिका ल्याएका छौं । सबै विद्यार्थीको सुरक्षा र समावेशी वातावरणका लागि विश्वविद्यालय प्रतिबद्ध छ ।’

केआईआईटीमा कम्प्युटर साइन्स तेस्रो वर्षमा अध्ययनरत पाल्पाका विप्लव आचार्यले होस्टेल र कलेज परिसरको वातावरण सहज बन्दै गएको बताए । ‘होस्टेलका वार्डेन तथा सुरक्षा गार्ड परिवर्तन गरिएको छ, प्रशासनका उच्च अधिकारी नियमित रूपमा भेट्न आइरहनुहुन्छ,’ उनले भने, ‘धेरैजसो नेपाली विद्यार्थी फर्किसकेका छन् । परीक्षा दिन छुटेकाका लागि मार्च १० देखि १४ सम्म परीक्षाको नयाँ तालिका ल्याइएको छ ।’ तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीको पनि ‘मिड सेमेस्टर’को परीक्षा भइरहेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएपी सञ्जीव शर्मा दास केआईआईटी विश्वविद्यालयको स्थिति सामान्य बन्दै गएको बताउँछन् । ‘हामी दैनिक रूपमा विद्यार्थी र कलेज प्रशासनसँग सम्पर्कमा छौं,’ उनी भन्छन्, ‘९ सय बढी विद्यार्थी फर्किसकेका छन्, उनीहरू परीक्षाको तयारीमा छन् ।’ उनका अनुसार ओडिसा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । त्यसबाहेक ओडिसा राज्य सरकारले पनि उच्चस्तरीय समिति बनाएर अनुसन्धान गर्दै छ । भारतको मानव अधिकार आयोगले पनि विज्ञसहितको टोली परिचालन गरी अनुसन्धान अघि बढाएको छ ।

त्यहाँ अध्ययनरत लम्साल फागुन ४ मा कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको शंकास्पद मृत्युबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए । त्यसक्रममा कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गर्दै फागुन ५ मा जबर्जस्ती होस्टेलबाट निकालेको थियो । उक्त घटनाको नेपालका साथै भारतमा समेत व्यापक विरोध भएको थियो । नेपाल सरकारले तत्कालै कूटनीतिक सक्रियता बढाएको थियो । भारतको संसद् र मिडियामा समेत केआईआईटीमा नेपाली छात्राको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि गरिएको दमनबारे व्यापक आलोचना भएको थियो ।

घटनापछि विश्वविद्यालय प्रशासनले संलग्नताको आरोपका २० भन्दा बढी कर्मचारीलाई निलम्बन गरेको छ । कान्तिपुरको सम्पर्कमा आएका विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी समन्वय शाखाका एक अधिकारीले घटनाबारे विभिन्न निकायबाट अनुसन्धान भइरहेको बताए ।

भारतको राष्ट्रिय मानवअधिकार आयोगले केआईआईटी घटनाबारे अनुसन्धान अघि बढाएको छ । आयोगले आफ्नो महानिर्देशकलाई विज्ञहरूको टिम बनाएर स्थलगत अनुसन्धान गर्न आदेश दिँदै फागुन २६ भित्र रिपोर्ट पेस गर्न भनेको छ । आयोगले घटना अनुसन्धानका लागि उजुरी परेकाले कारबाही अघि बढाइएको जनाएको छ । नेपालको राष्ट्रिय मानवअधिकार आयोगले पनि भारतको आयोगलाई आवश्यक कदम चाल्न आग्रह गरेको थियो ।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully