धनगढी — माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०८४ सम्म सरकारमा जाने सोचाइमा नरहेको बताएका छन् । मंगलबार टीकापुरमा आयोजित कार्यक्रममा दाहालले २०८४ को निर्वाचनमा १ नम्बर पार्टी बन्ने बताएका हुन् ।
‘विगतजस्तो एमाले वा कांग्रेसलाई फकाएर सरकारमा जाने विचारमा छैनौँ । ०८४ सम्म कम्तीमा चाहिन्न हामीलाई सरकार । जनतासँग मिलेर जनताको भरोसा जितेर एक पटक फेरि एक नम्बर पार्टी बनेर जानेछौं,’ उनले भने । माओवादीमा अलिअलि कांग्रेस र एमालेको रोग सरेको र आफूलाई लागेको त्यो रोगको उपचार गर्नेतर्फ लागि रहेको उनले बताए ।
पर्टीनिकट थारू मुक्ति राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि आफ्ना एजेन्डा कमजोर हुँदै गएको बताए । ‘त्रुटि सच्याउने अभियानमा छौं,’ उनले भने, ‘थारू जनसमुदाय संगठित हुने बेला आएको छ ।’
‘टीकापुर विद्रोहको सम्मान गर्छु, रेशमलाई जोखिम लिएर छुटाएको हुँ’
मन्तव्यका क्रममा अध्यक्ष दाहालले टीकापुर विद्रोह थारू समुदायको अधिकारका लागि भएको बताएका छन् । ‘टीकापुर थारू विद्रोह थारूहरूको अधिकारका लागि भएको हो,’ उनले भने, ‘म त्यसको सम्मान गर्न चाहन्छु ।’
उनले रेशम चौधरीलाई आफूले जोखिम उठाएर जेलबाट छुटाएको दाबी पनि गरे । ‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाहा छ,’ दाहालले भने, ‘थारूको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशम पनि माओवादीमै आउनु उचित हुन्छ ।’
