अमेरिकाले कागजातविहीन १० नेपालीलाई चार्टर विमानमार्फत फर्काउँदै

आधिकारिक कागजात नभएका १० नेपाली बुधबार बिहान काठमाडौं आइपुग्नेछन्

फाल्गुन २०, २०८१

सुरज कुँवर

US returning 10 undocumented Nepalis by charter plane

काठमाडौँ — अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिममार्फत बुधबार बिहान १० बजे अवतरण गर्ने तालिका छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता आधिकारिक कागजातविहीनलाई निष्कासन गर्ने घोषणा गरिएको थियो ।

माघ ७ गते ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले ट्रम्पको कार्यकाल सुरु भएयता विमान नै चार्टर गरेर नेपालीलाई पठाइन लागेको पहिलो पटक भएको बतायो । 

स्रोतका अनुसार यो विमान अमेरिकाको न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउन लागेको हो । उक्त विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई अवतरण गराएर सोझै नेपाल आउनेछ ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यसअघि मंसिर ३० मा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले चार्टर विमानमार्फत ८ जना आधिकारिक कागजात नभएका नेपालीलाई पठाएको थियो । 

बुधबार बिहान काठमाडौंमा आउने विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिकाको न्यु ह्याम्पसर फर्किनेछ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully