आजको मौसम: सुदूरपश्चिम प्रदेशमा हल्का हिमपातको सम्भावना

फाल्गुन २०, २०८१

रासस

Today's weather: Chance of light snowfall in Sudurpaschim

काठमाडौँ — हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख  छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

रासस

Link copied successfully