पोखरा — म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना अभियोगमा पक्राउ परेकाहरूसँग जिल्ला अदालतले सोमबार पनि बयान लिएको छ । अदालतका स्रेस्तेदार भोलाप्रसाद रेग्मीका अनुसार आइतबार र सोमबार गरी दुई दिनमा ४ जनाको बयान सकिएको छ ।
सहकारीको रकम हिनामिनाका मुख्य योजनाकारको अभियोग लागेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापा, सहकारीका तत्कालीन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पूर्वअध्यक्ष मनबहादुर थजालीको सोमबार पनि बयान लिइएको हो । सहकारीकी सचिव देवी थापाको आइतबारै बयान सकिएको छ । सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजा बिरामी भएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन् । उनलाई प्रहरी हिरासतबाट नै उपचारका लागि अस्पताल लगिएको हो । मंगलबार सहकारीको लेखा समितिका पूर्वसदस्य लोकेश पुन मगरको बयान हुनेछ ।
स्रेस्तेदार रेग्मीका अनुसार मंगलबार बयान सकिएपछि पहिला सरकारी वकिलले बहस थाल्नेछन् । त्यसपछि प्रतिवादीले राखेका करिब एक दर्जन वकिलले बहस सुरु गर्नेछन् । मंगलबार र बुधबार थुनछेक बहस हुन सक्ने स्रेस्तेदार रेग्मीले जानकारी दिए ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखसमेत रहेका एमाले नेता थापाको मुख्य योजनामा कुमारी सहकारीका बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ । थापाले सहकारीमा रहेको सर्वसाधारणको बचत आफूखुसी झिकेर निजी स्कुल, घरजग्गा कारोबार, जग्गा प्लटिङमा लगानी गरेको छानबिन प्रतिवेदनमा औंल्याइएको छ ।
प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको पत्रका आधारमा प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो । ४३ सय ८६ जना बचतकर्ता रहेको यो सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य छन् । रकम हिनामिनामा संलग्न भएकाहरूले बहुमत सेयर आफ्नो र परिवारका नाममा राखेर सर्वसाधारण बचतकर्ताको रकम हिनामिना गरेको पाइएको छ । थापासहित २५ जनाबाट १ अर्ब १३ करोड बिगो मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाका १६ अभियुक्त भने फरार रहेको प्रहरीले जनाएको छ ।
