३० वर्षपछि शान्तिले भेटिन् परिवार

तीन दशकअघि भारतमा हराएकी शान्तिको स्वागतमा गाउँमा बज्यो बाजा

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Shanti met her family after 30 years

काठमाडौँ — भारतको पिथौरागढ बस्ने वर्षा शाह ठकुरीले सानै छँदा सुनेकी थिइन्- हाम्रो घरमा पनि जेठी आमा हुनुहुन्छ रे ! जेठी आमाबाट जन्मेका एक दाइ र एक दिदीले आमाबारे सुनाएका केही कुराको धमिलो स्मृति उनीसँग थियो । 

कामको सिलसिलामा पिथौरागढ पुगेकी वर्षाले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा वृद्ध उमेरकी एक महिलाको तस्बिर देखिन् । जसमा लेखिएका केही विवरणमा उनको परिवारकै सदस्यहरुको नाम थियो । त्यही फेसबुक स्टाटस पछ्याउँदा पछ्याउँदै उनले थाहा पाइन्, ती महिला कोही नभएर ३० वर्षअघि हराएकी जेठी आमा पो रहिछन् ।

भारत उत्तराखण्डको पिथौरागढस्थित एक सामाजिक संस्थाको आश्रयमा नेपाली महिला रहेको सूचना पाएको थियो, भारतमा क्रियाशील सामाजिक संस्था किन इन्डियाले । संस्थाका प्रमुख नवीन जोशीले माया नाम गरेकी नेपाली महिला संस्थामा छिन् भन्ने सूचना सुरुमा पाएको र पछि उनी सुदूरपश्चिमतिरकी हुन् भन्ने बुझेपछि आफूहरुले खोजीनिती गरेको बताए । 

‘हामीले सुदूरपश्चिमकै भाषिकामा कुरा गरेपछि उहाँ खुल्दै जानुभयो अनि जिल्ला पत्ता लगाउन सकियो,’ जोशीले भने, 'त्यसपछि उहाँको परिवारका सदस्यको खोजीमा हामीले सामाजिक सञ्जालबाट प्रचारप्रसार सुरु गर्‍यौं ।'Shanti met her family after 30 years

जोशीका अनुसार बाजुराको बुढीगंगा नगरपालिका-३ स्थायी ठेगाना भएकी शान्ति माइत जान्छु भनेर घरबाट निस्केकी थिइन् । तर उनी भारतमै हराइन् । परिवारजनले लामो समयसम्म उनको खोजी जारी राखे पनि पत्ता नलागेपछि आशा मार्ने अवस्थामा पुगेको पृष्ठभूमि पनि उनले बताए ।

‘ठेगाना र परिवारको पहिचान भएपछि गाउँमै पुगेर उहाँको सम्पर्क गराएका छौं,’ जोशीले भने, ‘३० वर्षदेखि हराइरहेकी आमालाई भेट्दा उनका सन्तान र श्रीमान् औधी खुसी हुनुभयो । उहाँको परिवारका लागि चमत्कार जस्तै भएको छ ।’ Shanti met her family after 30 yearsगाउँ पुग्दा परिवार र गाउँलेले फूलमाला, बाजागाजाका साथ शान्ति तथा किन इन्डियाको टोलीलाई स्वागत गरेका थिए ।

वर्षाले ठूलीआमा भेटिएपछिका प्रत्येक दिनको खबरमा आफू अपडेट हुँदै आएको बताइन् । उनले भनिन्, ‘हामी कान्छी आमातिरबाट जन्मेका हौं । म नजन्मिँदै ठूलीआमा हराउनुभएको रहेछ । मैले त उहाँबारे कुरा मात्रै सुनेको थिएँ, अहिले तस्बिरमा हेर्न पाएँ,' कान्तिपुरसँगको कुराकानीमा उनले भनिन् ।

वर्षाले दुई आमाबाट ५ छोरा र २ छोरी भए पनि अहिले गाउँको घरमा बुबा र आमा मात्रै बस्दै आएको बताइन् । 'जेठी आमा पनि भेटिएपछि अब घरमा तीन जना हुनुहुने भयो,' उनले भनिन्, ‘जेठीआमा भेटिनुभएको खबर सुन्दा सुरुमा त पत्यार नै लागेको थिएन । अब भने कहिले घर पुगेर भेटौंजस्तो भएको छ ।’Shanti met her family after 30 yearsकान्छी आमातिरबाट जन्मेका भुपेन्द्र शाह ठकुरीले केही दिनअघि जेठीआमा भेटिएको खबर थाहा पाएका थिए । त्यसपछि उनी हुर्रिएर महेन्द्रनगर पुगे । उनले सुनाए, ‘सुरुमा त मैले पत्याएकै थिइनँ । आशा नै मारेको खबर पाउँदा को खुसी हुन्न र ?’ उनले आमा भेटिएको खबर सुनेपछि आफू महेन्द्रनगर पुगेको र भारतबाट आमासहित आएका संस्थाका प्रतिनिधि लिएर गाउँ गएको सुनाए । ‘यो खबरले सिंगो गाउँ नै खुसी भयो । बाजागाजा बजाएर हर्षोल्लासका साथ आमालाई घर भित्र्यायौं,’ उनले भने । 

तीन वर्षको हुँदा आमालाई देखेका भुपेन्द्रको स्मृतिमा उनको धूमिल तस्बिर मात्रै थियो । ३५ वर्षको हुँदा उनले आमालाई धीत मर्ने गरी हेर्न र कुराकानी गर्न पाए । उनले आफूलाई आमाको पुनर्जन्म भएजस्तो लागेको बताए । भने, ‘हामीले त आशा नै मारिसकेका थियौं तर विश्वासै नलाग्ने कुरा सत्य सावित भयो । हामीले आमालाई देख्न पायौं ।’

कान्तिपुर

Link copied successfully