गठबन्धन सरकार भएकाले कांग्रेसले भनेका सबै कुरा हुँदैनन् : उपप्रधानमन्त्री सिंह

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Being a coalition government, everything Congress says will not happen: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रियाअनुसार विकासका योजना माग गरे सहज हुने बताएका छन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखका लागि आयोजित  प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले योजना छनोट निश्चित विधि हुने भन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिए । उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति, जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजना छनोट हुने पनि बताए । 'यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँद‌ैन । गबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ,' उनले भने ।

विकास निर्माणका योजना छनोट गर्दा आवश्यकताका आधारमा धेरै नागरिक लाभान्वित हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए ।उपप्रधानमन्त्री सिंहले पछिल्लो समय सरकार अस्थिर बनेपछि नागरिकले स्थिरता खोजेकाले अहिले कांग्रेस र एमालेसहितका अरू दल मिलेर राजनीतिक स्थिरताका लागि गठबन्धन सरकार बनेको बताए ।

सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको सिंहको भनाइ थियो । उनले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully