पोखरा — म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेकाहरुसँग जिल्ला अदालतमा मंगलबार थुनछेक बहस हुने भएको छ ।
अदालतका श्रेस्तेदार भोलाप्रसाद रेग्मीका अनुसार सहकारीको रकम हिनामिनाका मुख्य योजनाकार राजकुमार थापा, रुद्र गुरुङ, मनबहादुर थजालीको बयान सकिएका कारण मंगलवार उनिहरु बिरुद्ध थुनछेक बहस शुरु हुने छ ।
श्रेस्तेदार रेग्मीका अनुसार मंगलबार सुरुमा सरकारी वकिलले थुनछेक बहस गर्ने छन् । त्यसपछि प्रतिवादीहरुले राखेका करिब एक दर्जन वकिलले बहस सुरु गर्ने छन् । प्रतिवादीका वकिलहरु एक दर्जनभन्दा धेरै भएकाले मंगलबार र बुधबार थुनछेक बहस हुन सक्ने श्रेस्तेदार रेग्मीले टेलिफोनमा जानकारी दिए ।
पक्राउ परेकाहरूसँग जिल्ला अदालतले सोमबार पनि बयान लिएको छ । अदालतका स्रेस्तेदार रेग्मीका अनुसार आइतबार र सोमबार गरी दुई दिनमा ४ जनाको बयान सकिएको हो ।
