दुवै प्रेम सम्बन्धमा रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान
विराटनगर — मोरङको पथरीशनिश्चरेमा महिला र पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका छन् । दुवै विवाहित हुन् ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको एउटै हाँगोमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरूलाई फेला पारिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
डीएसपी मोहनविक्रम दाहालका अनुसार उनीहरु पथरीशनिश्चरे–५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा हुन् ।
जुबामुनीका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीका लागि विदेशमा छन् । अजयका ४ र २ वर्षका दुई छोरा छन् भने जुबामुनीका डेढ वर्षका छोरा रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार अजयले आइतबार राति जुबामुनीलाई आफ्नै घरमा ल्याएका थिए ।
अजयको घरमा खाना खाएर राति नै उनीहरू निस्किएको पारिवारिक स्रोतले जनाएको छ ।
स्थानीयले बिहान १०ः३० बजेतिर झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ ।
सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै प्रेम सम्बन्धमा रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रेम सम्बन्धमा समस्या उत्पन्न भएपछि आपसी सल्लाहमै आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
‘घटनास्थलको प्रकृति हेर्दा सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ । तर, वास्तविकता भने अनुसन्धानपछि मात्रै खुल्छ,’ डीएसपी दाहालले भने ।
