अन्य देशको भन्दा फरक झन्डा देखेर बुफोनलाई नेपालप्रति सानैदेखि कौतूहल थियो, जब नेपाल भ्रमणको प्रस्ताव आयो, नाइँ भनेनन्
काठमाडौँ — विश्व फुटबलमै जियानलुगी बुफोन जत्तिको खेलाडी पाउन गाह्रो हुन्छ । उनलाई सर्वकालीन महान् गोलरक्षकमध्ये एक मानिन्छ । इटालीले सन् २००६ मा विश्वकप जित्दा उनी प्रमुख खेलाडी थिए । उनलाई धेरैले सम्झिने मुख्य कारण भने अर्कै छ र त्यो हो, उनले करिब तीन दशक लगातार फुटबल खेलिरहे ।
हातैमा गन्न मिल्छ, एक हजार एक सय व्यावसायिक खेल खेल्ने खेलाडी । बुफोन त्यसमा पनि पर्छन् । इटालीका यिनै पूर्वखेलाडी अहिले काठमाडौंमा छन् । दशरथ रंगशालामा सोमबार केपी ओली कप फुटबलको फाइनल हुँदै छ । त्यसकै प्रमुख अतिथिका रूपमा उनी नेपाल आएका हुन् । त्यसको पूर्वसन्ध्यामा आइतबार मिडियासामु प्रस्तुत हुने क्रममा बुफोनले भने, ‘म दोहोर्याएर नेपाल आउनेछु ।’ किनभने यसपल्ट उनको भ्रमण निकै छोटो छ, आइतबार आए, मंगलबार फर्कन्छन् ।
प्रायः भन्ने गरिन्छ, इटालीका आम मान्छे नेपाल र त्यहाँको एउटा सहर नेपल्समै झुक्किने गर्छन् । बुफोन भने अपवाद रहेछन्, सानै छँदादेखि उनलाई नेपालप्रति कौतूहल थियो । कारण ? नेपालको झन्डा । नेपालको झन्डा अन्य देशको भन्दा आकार र प्रकारमा फरक छ । त्यो हेरेर उनलाई लागेको रहेछ, यो त रहस्यमय देश हुनुपर्छ । त्यसपछि उनले नेपालबारे बुझ्ने प्रयास जारी राखे । जति बेला नेपाल भ्रमणको प्रस्ताव आयो, नाइँ भनेनन् । उनको त नेपाल आउने सानैदेखिको सपना पूरा भएको रहेछ ।
जति बेला केपी ओली कपको फाइनल हुनेछ र दशरथ रंगशालामा दर्शकले त्यो क्षण आत्मसात् गर्नेछन् कि विश्व फुटबलका महान् हस्ती पनि त्यहीं उपस्थित छन् ।
बुफोनले यति धेरै समय र खेलका लागि कसरी आफूलाई हरदम ‘फिट’ राखे होलान् त ? त्यसमा उनको उत्तर छ, ‘फुटबल मलाई सबैभन्दा मन पर्छ, त्यसैले यसका लागि मैले कडा मिहिनेत गरिरहें, त्यसैले लामो समय खेलें । तर यो काम गाह्रो छ ।’
बुफोन अहिले ४७ वर्षका भए । नजिकबाट हेर्दा अहिल्यै खेलिहाल्ने खालका छन् । जति बेला उनले खेल्न सुरु गरे, त्यति बेला न फेसबुक थियो, न एक्स (ट्वीटर) नै । न त स्मार्टफोन । त्यति बेलादेखि खेलेका बुफोनले संन्यास लिएको भने भर्खरै हो, सन् २०२३ मा मात्र । उनी ख्यालख्यालमै भन्थे, ‘म त ६५ वर्षसम्म खेलिरहनेछु ।’
बुफोनले जति समय खेले, उनलाई न क्लबमा न इटालीको राष्ट्रिय टिममा चुनौती दिने कोही थियो । उनले १९९५ मा पार्माबाट खेल्न सुरु गरे, आफ्नो खेल जीवनको पूर्णविराम पनि पार्माबाटै लगाए । उनले क्लबस्तरमा सबैखाले ख्याति कमाएको भने युभेन्ट्सका लागि खेल्दा हो । २००१ देखि २०१८ सम्म उनी युभेन्ट्समा रहे र भएभरको उपाधि जिते ।
युभेन्ट्सलाई ‘बी’ डिभिजनमा घटुवा गरिँदा पनि उनले क्लब छाडेनन् । त्यसैले उनको क्लब प्रतिबद्धता पनि अपार मानिन्छ । दोहोर्याएर युभेन्ट्स आउनुअगाडि बुफोनले तीन वर्ष जति पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताए ।
इटालीका लागि भने बुफोनले सन् १९९७ देखि २०१८ सम्म खेले । त्यस समयमा उनले आफ्नो समयका सबै ठूला नामको सामना गरे । सँगै खेले पनि । यस्तोमा उनलाई के लाग्दो हो, लियोनल मेसी राम्रो कि क्रिस्टियानो रोनाल्डो ? यही प्रश्न उनलाई यसपल्ट पनि सोधियो । त्यसको उत्तर दिन दिनुअगाडि मुसुक्क हाँसे र कूटनीतिक खाले उत्तर दिए । उनको भनाइ थियो, ‘दुवै फरक प्रकारका खेलाडी हुन्, त्यसैले दाँज्न मिल्दैन ।’
नेपाली फुटबलबारे पनि केही बुझ्ने प्रयासमा रहेको बुफोनको भनाइ रहेको छ । नेपालले पनि विश्वकप खेल्न सक्छ, तर यसका लागि चाहिने भनेको लगानी हो । यति भन्दाभन्दै नेपाल आएयता उनलाई हेरेर कसैमा फुटबलप्रतिको प्रतिबद्धता, समर्पण र सम्मान बढ्छ भने त्यो नै ठूलो हुनेछ ।
नेपालमा अहिलेसम्म जति पनि विश्व फुटबलका ठूला नामका खेलाडी आए, तिनीहरूले पाएको सफलताका आधारमा बुफोन नै नम्बर १ हुन् ।
