समाजलाई बदल्न विद्रोह त गर्नैपर्छ : महासचिव पोखरेल 

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Rebellion is necessary to change the society: General Secretary Pokharel

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण कार्यक्रममा पोखरेलले समाजलाई बदल्न विद्रोह गर्नैपर्ने बताएका हुन् । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुशासित विद्रोहको प्रतिनिधिपात्र रहेको पनि पोखरेलको भनाइ थियो । ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भएपनि पार्टीका सीमालाई कहिल्यै उल्लंघन नगरेको पोखरेलले बताए । 

‘समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ । तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु । लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमालाई कहिल्यै उल्लंघन गर्नुभएन । त्यही भएर उहाँ अहिले पार्टीको शीर्ष स्थानमा हुनुहुन्छ,' पोखरेलले भने, 'दिशा बदल्न चाहने, विद्रोह गर्न चाहनेहरूले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नु हुँदैन । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्छ । सीमालाई उल्लंघन गर्नेहरू असफल भएर जान्छन् भन्नेकुरा केपी ओलीको जीवन संघर्षबाट सिक्नुपर्ने पाठ हो ।’

महासचिव पोखरेलले प्रधानमन्त्री ओली नपढेको मान्छे नभई पढ्न नपाएको मान्छे भएको बताए । ज्ञानका दृष्टिकोणले पढेका मान्छे भन्दा बढी जानकारी ओलीमा रहेको पोखरेलको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully