स्वर्गद्वारी गुठीपीडितमाथि प्रहरीको धरपकड

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरीको भनाइ

फाल्गुन १९, २०८१

दीपक सापकोटा

Police arrest Swargadwari Guthipidi

काठमाडौँ — मोही किसानले लालपुर्जा पाउनुपर्ने माग सांसदहरूलाई सुनाउन संसद् भवन नयाँ बानेश्वरतिर पैदल यात्रा गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । काठमाडौं, माइतीघरमा धर्ना बसेको एक महिना हुन लाग्दा पनि माग सुनुवाइ नभएको भन्दै किसान आइतबार मौलिक भेषभूषामा कृषि औजार बोकेर संसद् भवनतर्फ लम्किएका थिए । बबरमहलमा उनीहरूलाई प्रहरीले रोकेपछि झडप भएको थियो ।

शान्तिपूर्ण रूपमा पदयात्रा गरिरहेका किसानमाथि प्रहरीले निर्घात कुटपिट गरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले जनाएको छ । समितिका अनुसार प्रहरीको लाठीचार्जबाट २९ किसान घाइते भएका छन् । घाइते केहीलाई उपचारका लागि वीर अस्पताल लगिएको समितिले जनाएको छ । सामान्य घाइते भने माइतीघरमा भएको विरोध प्रदर्शनमा पुनः सहभागी भएका थिए । माइतीघरमा नारा लगाइरहेका खुसीराम चौधरीले भने, ‘हामी आन्दोलनबाट भाग्दैनौं ।’ 

बबरमहलको झडपका क्रममा प्रहरीले शेरबहादुर चौधरी, प्रवीण दहित चौधरी, लालबहादुर चौधरी, बालकृष्ण चौधरी, भरतलाल चौधरी, रमेश चौधरी, धनीराम चौधरी, विमली चौधरी, सुनिता चौधरी, रामकुमारी चौधरी, पिमा चौधरी र विन्दु कुमाललाई नियन्त्रणमा लिएको समितिले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको दाबी गरे । बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारकी प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन् । 

आन्दोलनमा सहभागी विमला चौधरीको खुट्टा प्रहरीको कुटाइले सुन्निएको छ । ‘मैले बोकेको प्लेकार्ड खोस्दै प्रहरीले ढाड र खुट्टामा हान्यो,’ उनले भनिन् । विमला माइतीघरमा धर्ना बसिरहेका किसान साथीहरूलाई साथ दिन आइतबार बिहान मात्रै दाङ, तुलसीपुर–१० बाट काठमाडौं आइपुगेकी हुन् । गुठीपीडित उनका श्रीमान् मजदुरी गर्न दुबई पुगेका छन् । ‘घरमा छोराछोरी छोडेर काठमाडौं आएकै दिन घाइते भएँ,’ उनले भनिन् ।’

संघर्ष समितिका अनुसार प्रहरीले किसानका कृषि औजार पनि नियन्त्रणमा लिएको छ । साथीहरू पक्राउ परे पनि फेरि फर्केर माइतीघरमा बसेका बाँकी आन्दोलनकारी सबैले घाँटीमा सरकारले दिएको, पुर्खादेखि जोतेको जमिनको मोहियानी हकको प्रमाणपत्र झुन्ड्याइरहेकै छन् । दाङका १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार किसान स्वर्गद्वारी गुठीका मोही छन् । तिनले गुठीअन्तर्गतको १ हजार ५० बिघा जमिन जोतिरहेका छन् । जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीका नाममा छ । जोतभोग गरेको जग्गाको स्वामित्व आफ्नै हुनुपर्छ भनेर किसान वर्षौंदेखि आन्दोलनमा छन् । किसानसँग मोहियानी पुर्जा छ तर त्यो पनि २०६२ चैत १४ को सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज हुने परमादेश जारी गर्‍यो । 

सर्वोच्च अदालतले ‘स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने’ परमादेश दिएको थियो । त्यसपछि किसान मोही पुर्जाको प्रमाण बोकेर आन्दोलन गरिरहेका छन् । किसानले जोतभोग गर्दै आएको जमिन मोहीका नाममा रैतानी हुने कानुनी व्यवस्था गर्नुपर्ने, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनःस्थापित हुनुपर्ने र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरूको छ । 

स्वर्गद्वारी गुठीअन्तर्गत जग्गा जोतिरहेका किसानले २०४५ सालदेखि नै जिल्लाकेन्द्रित आन्दोलन गर्दै आएका थिए । सरकारलाई थप दबाब सिर्जना गर्न किसानले दाङमा पनि आन्दोलन गरेका थिए । २०८० फागुन ७ देखि एक महिनासम्म आन्दोलन गरेपछि सरकारले उनीहरूसँग सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नभएको भन्दै गुठीपीडितले गत माघ २० देखि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । काठमाडौंको अव्यस्थित बसाइले किसान गलिसकेका छन्, शारीरिक रूपले कमजोर र बिरामी भएका छन् । 

आन्दोलनरत किसान पहिले गौशाला धर्मशालामा बसिरहेका थिए । धर्मशालाले शिवरात्रिको छेकोमा अन्यत्रै सर्न भनेपछि उनीहरू खुला आकाशमुनि बसे, अहिले फेरि गौशालामै फर्किएका छन् । ‘खाना त आफैं पकाएर खान्छौं, तर महिलालाई काठमाडौंमा गाह्रो भएको छ,’ आन्दोलनमा सहभागी दाङकी आशाकुमारी चौधरीले भनिन्, ‘एउटै कोठामा ४०, ५० जना सुत्नुपरेको छ ।’ अहिलेको आन्दोलनमा सयभन्दा बढी किसान सहभागी छन् । आफूले खाने चामल–दाल बोकेर दाङदेखि आएका उनीहरू माग पूरा नभएसम्म नफर्किने अडानमा छन् । खुसीराम चौधरी (६५) भन्छन्, ‘सरकारले लालपुर्जा नदिएसम्म हामी माइतीघर छोड्दैनौं ।’

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully