सप्तरीमा एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद

फाल्गुन १९, २०८१

अवधेशकुमार झा

More than 2400 kg of ganja was recovered from one warehouse in Saptari

सप्तरी — सप्तरीबाट एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद भएको छ । राजविराज नगरपालिका वडा नम्बर-९ मलेठ स्थित एक गोदामबाट २ हजार चारसय १९ किलो गाँजा सोमबार बरामद भएको हो । 

रुपनीबाट राजविराज आउँदै गरेको बेला सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक छेउमा रहेको गोदाममा दुईवटा ट्रकमा सामान अनलोड भइरहेको देखेपछि शंका लागेर सोधखोज गर्दा गोदामबाट गाँजा बरामद भएको हो । स्याउ गोदाममा सामान लोड भइरहेको देख्दा शंका लागेपछि उनी अनुगमनमा गएका थिए । 

ताला फटाएर गोदामभित्र प्रवेश गर्दा ८० बटा बोरामा प्याक गरिएको २ हजार ४ सय १९ किलो गाँजा बरामद भएको प्रजिअ दाहालले जानकारी दिए । गोदाममा रहेको लाखौँ रुपैयाँबराबरको तयारी कपडा,सुर्ती,प्लम्बिङको सामानसमेत बरामद भएको छ । यस्तै ट्रकबाट १ सय ४२ कार्टुन स्याउसमेत नियन्त्रणमा लिएको छ । 

सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार गोदामबाट एउटा भारतीय नम्बर प्लेटको स्कारपियो र एउटा कार समेत नियन्त्रणमा लिइएको छ । बरामद स्कारपियोमा तत्काल भारतीय नम्बर प्लेट लगाइएको भए पनि भित्र दुईवटा नेपाली नम्बरको प्लेट भेटिएको स्कारपियोको भित्री भागमा सिट छैन । यस्तै प्रहरीले गोदाम परिसरमा स्याउ लोड अनलोड गर्दे गरेको दुवै ट्रक पनि नियन्त्रणमा लिएको  छ । 

प्रहरीले गोदाम कुरेर बसेका बिहार मधुवनीका रामनारायण यादव, को १ ख ५२१५ नम्बरको ट्रकका चालक सप्तरी खडग नगरपालिका १० का देवनारायण पासमान,लोड अनलोडमा संलग्न बिहारको सुपौल जिल्ला निर्मलीका राजाकुमार साह र असलम खानलाई पनि नियन्त्रणमा लिइएको छ । 

बरामद सामानको यकिन विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । गाँजा बरामद भएको गोदाम कसको हो भन्ने पनि नखुलेको प्रहरीको भनाइ छ । 

अवधेशकुमार

Link copied successfully