सहकारी ठगीमा संलग्नहरूलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा नचलाएकोप्रति बचतकर्ताहरूको असन्तुष्टि
पोखरा — म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरुसंग जिल्ला अदालतले आइतबारदेखि बयान लिन सुरु गरेको छ।
आइतबार सहकारीकी सचिव देवीकुमारी थापाको बयान भएको थियो । आज अरू पाँच जनाको बयान लिने तयारी रहेको जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत बिहीबार एक अर्ब १३ करोड बिगो दावी गर्दै जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापासहित २५ जनालाई विपक्षी बनाएर अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । उक्त अभियोगका आधारमा अदालतले थुनामा रहेकाहरूसँग बयान थालेको हो ।
उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले ९ महिनाअघि गरेको छानविनका आधारमा सहकारीको रकम हिनामिना गर्ने ६ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सहकारी ठगीमा संलग्न अन्य १९ जना फरार छन्।
कुमारी सहकारीका पूर्व सचिव, उपाध्यक्ष र ऋण समितिको पदाधिकारी राजकुमार थापा, पूर्व प्रबन्धक रुद्र गुरुङ, सचिव देवीकुमारी थापा, पूर्व अध्यक्ष मनप्रसाद थजाली र थमबहादुर गर्बुजा गत माघ २० गते पक्राउ परेका थिए । प्रहरीले लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुन (लोकेश)लाई फागुण ७ गते पक्राउ गरेको थियो ।
६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको पैसा बिना धितो लगेर तत्कालीन सञ्चालकहरूले ढुकुटी खेलाउने, बोर्डिङ स्कुल र घरजग्गामा लगाउने काम गरेको छानविन प्रतिबेदनमा औंल्याइएको छ । सहकारीको रकम निजी आर्जनमा लगाएका आधारमा ठगीमा संलग्नहरूलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन पर्नेमा त्यसो नगरी सहकारी ठगीमा मात्र मुद्दा चलाइएकोमा बचतकर्ताहरूको असन्तुष्टि जनाएका छन् ।
अनुसन्धानमा खटिएका सहकारी रजिस्ट्रारको कार्यालय पोखराका वित्तीय बिश्लेषक निर्मल गौतमले ऐन विपरीत र बिना धितो सहकारीको रकम लगेको प्रयाप्त प्रमाण हुँदाहुँदै प्रहरी र सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणका बारेमा अनुसन्धान समेत नगर्नु ठूलो षडयन्त्र भएको बताए । उनका अनुसार बचकर्ताको १ अर्ब ४९ करोड हिनामिना भएको आरोप छ ।
