विपद्पछि ५ महिना बितिसक्दा पनि सरकारले ठोस कदम चाल्न नसक्दा आफूहरू जोखिम मोलेरै चर्किएको घरमा बस्न बाध्य भएको बाढीपीडितको भनाइ
काभ्रे — घरको एक पाखा भत्किएर रोशी खोला किनारतर्फ लडेकाले ह्वाङ्गै देखिन्छ, बचेको भागको अर्को कुनामा किराना पसल छ । दिउँसो क्यारेमबोर्ड खेल्ने, बिहान–बेलुका चिया खाने टुट्दैनन्, धेर–थोर व्यापार भइरहन्छ । पसलबाट हुने व्यापारबाहेक पनौती–१२, मानखोला दोभानकी दुर्गा खत्री दम्पतीको आम्दानीको अरू स्रोत छैन । पसलको व्यापारले नै दुर्गाले घर व्यवहार धान्दै आएकी छन् ।
असोज १२ मा रोशी खोलामा आएको बाढीले गाउँभर वितण्डा मच्चायो, त्यही बेला भत्केको घरमा डराइडराइ बसिरहेको छ, दुर्गाको परिवार । पाँच महिना बितिसक्यो तर सरकारले विपद् प्रभावित लाभग्राहीको विवरणसमेत संकलन गरेको छैन् । पनौती–२ स्थित नयाँगाउँ, मैखोरिया, तोरीखोरिया, वडा–१२ को रोशी बजार र कलातीका केही क्षेत्र, वडा–११ को थुम्की डाँडालगायतका बस्ती बाढीबाट प्रभावित छन् । पीडित जोखिम मोलेरै क्षतिग्रस्त घरटहरामा बसेका छन्, बस्ती छाड्न सक्ने विकल्प उनीहरूसँग छैन ।
‘दुई पाइला चाल्दा घर हल्लिन्छ, डर र त्रासको कुरै नगरम्,’ दुर्गाले भनिन्, ‘बेलाबेलामा आउने भूकम्पले त मुटु नै काम्छ । डरत्रास भएर के गर्ने, जाने ठाउँ कहीँ छैन, यही घर टालटुल गरेर बसेका छौं । नयाँ बनाउन न पैसा छ, न जग्गा नै । सरकारको आस कतिन्जेल गर्ने हो ?’
आफूसँग जे–जस्तो छ, त्यसैमा बस्नुबाहेक अर्को विकल्प नभएको उनले बताइन् । ‘हिउँदभर जसोतसो बसियो, वर्षामा यहाँ बस्न सकिँदैन होला,’ उनले दुखेसो पोखिन्, ‘बाढी र पहिरो दुवैको जोखिम छ, जेठसम्म ठूलो पानी परेन भने यहीँ बस्ने, जेठपछि पनौती बजारतिर कोठा खोज्ने सोचेका छौं ।’
बाढीले क्षति पुर्याएपछि धेरै ठाउँमा चिरा परेको घरमा बसेको छ, पनौती–१ गुरुङ गाउँकी ७० वर्षीया ठूली खत्रीको परिवार पनि । भन्छिन्, ‘बाँचे पनि यही घर, मरे पनि यही घर भन्ने भएको छ ।’ उक्त घरमा उनको ५ जनाको परिवार बस्दै आएको छ । ‘यहाँ बस्नुबाहेक अर्को विकल्प पनि त छैन, भूकम्पको राहतबाट घर बनाएका थियौं, त्यो पनि बाढीले क्षतिग्रस्त बनायो, अब अर्को घर बनाउने हैसियत छैन,’ उनले सुनाइन्, ‘माथिबाट पहिरो खस्ला भन्ने डर, आँगन अगाडिको खोलामा बाढी आए घरसमेत बगाउला भन्ने चिन्ता छ ।’
खानी र क्रसरले खोला मास्न थालेकाले बस्ती नै नरहला भन्ने पीरसमेत बढेको उनले बताइन् । ‘बर्खा सुरु हुन लाग्यो, ज्यान जोगाउनै मुस्किल छ । घर बाढीले क्षतिग्रस्त छ तर पनि सरकारका तर्फबाट कुनै राहत पाइएको छैन,’ उनले गुनासो गरिन्, ‘गाउँमा केहीले राहत र पैसा पनि पाए, हाम्रो त लिस्टमा नामै छैन भन्छन् ।’
आउने बर्खामा पनि उस्तै नियति दोहोरिने हो कि भन्ने चिन्तामा छन्, पनौती–१२ ढाडगाउँका ८१ वर्षीय युगबहादुर गुरुङ । गुरुङ दम्पती नै बिरामी भएर लामो समय अस्पतालको बसाइपछि घर फर्किएलगत्तै असोज १२ मा विपत्तिले दुवैलाई फेरि अस्पताल पुर्याएको थियो ।
युगबहादुरलाई जनै खटिरा आएर र पत्नीको खुट्टा भाँचिएकाले दम्पती नै बिरामी थिए । ‘हामी अस्पतालबाट आएको केही दिन मात्र भएको थियो,’ उनले भने, ‘धन्न त्यतिबेला छोराकै घरमा थियौं र उसले हामीलाई पालैपालो बोकेर माथि डाँडामा लग्यो, ठूलो विपत्तिबाट जोगियौं । तर रातभर पानीमा भिजेकाले फेरि बिरामी परियो, अस्पतालमा भर्ना भएर उपचारपछि मात्र घर फर्कन सक्यौं ।’
बाढी र पहिरोले गाउँ अझै त्रसित छ । ‘पहिरो खसेर डाँडामा चिराचिरा परेका छन्, अबको बर्खामा झ्न ठूलो क्षति हुने हो कि भन्ने डर छ,’ युगबहादुर भन्छन्, ‘डाँडातिर बस्नेलाई पहिरो खस्ने डर, यहाँ तल बस्नेलाई बाढीको डर । रोशी उर्लेर आउँदा बस्ती नै बगाउला भन्ने चिन्ता ।’
विपद्पछिको ५ महिना बितिसक्दा पनि प्रभावितका लागि सरकारले ठोस कदम चाल्न नसक्दा आफूहरू जोखिम मोलेरै चर्किएको घरमा बस्न बाध्य भएको उनले बताए । ‘हिउँदमा केही गर्न नसकेको सरकारले अब बर्खामा के गर्ला ?,’ उनी भन्छन्, ‘अस्थायी टहरा बनाउन ५० हजार रुपैयाँ दिने भनिएको थियो, तर बर्खा आउन लागिसक्दासमेत चासो दिइएको छैन ।’
कात्तिक ५ मा बसेको विपद् व्यवस्थापन समिति बैठकले जोखिमयुक्त बस्तीको भौगोलिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले बाढीपहिरोका कारण बस्न योग्य नभएको र स्थानान्तरण गर्नुपर्ने घरपरिवार तथा बस्ती पहिचान गरी विवरण पठाउन सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने भनेको थियो ।
‘माथिल्लो निकायलाई अनुरोध गरिएको छ,’ जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भन्छन्, ‘स्थानीय तहसँग जोखिमयुक्त बस्तीको विवरण माग गरे पनि पूरै विवरण प्राप्त हुन सकेको छैन् ।’ अस्थायी आवास पुनर्निर्माणका विषयमा केन्द्रित फागुन १५ मा बसेको समितिको बैठकले प्रभावित पालिकामा अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । अस्थायी आवास निर्माणका लागि लाभग्राहीको विवरण विपद् ‘पोर्टल’ मा प्रविष्ट गरी स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने व्यवस्था छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन भएर प्राधिकरणमा पुगेपछि मात्र रकम निकासा हुनेछ ।
तर सबै पालिकाले अहिलेसम्म लाभग्राही विवरण संकलन गर्न सकेका छैनन् । काभ्रेका १३ वटा स्थानीय तहमध्ये ५ वटाले मात्र लाभग्राहीको विवरण संकलन गरेका छन् । धुलिखेल नगरपालिकामा ८६, नमोबुद्ध नगरपालिकामा ८२४, रोशी गाउँपालिकामा ५४८, चौरींदेउराली गाउँपालिकामा २७८ र महाभारत गाउँपालिकामा १७ घरपरिवार पीडित रहेको विवरण संकलन भएको छ । ‘पालिकालाई पटकपटक लाभग्राही विवरण प्रविष्ट गर्न पत्राचार गरिएको छ,’ प्रजिअ ढकाल भन्छन्, ‘तर पालिकाले चासो नदिँदा पीडितले आवास निर्माणको रकम पाउन ढिलाइ भएको हो ।’
विपद्बाट अतिप्रभावित काभ्रेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकामध्ये हालसम्म रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले मात्र विवरण संकलन गरेका छन् । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा र पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले विवरण संकलन प्रक्रिया जारी रहेको बताए ।
