'सञ्चालकलाई जेलमा थुनेर बचतकर्ताले रकम फिर्ता पाउँदैनन्
काठमाडौँ — एमाले नेता एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले सहकारीको कार्यालय बन्द गरेर र सञ्चालकलाई जेलमा थुनेर बचतकर्ताको रकम फिर्ता नहुने बताएका छन् । पोखरामा आइतबार १२ औं नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन ‘सहकारीको सास्ती’ सत्रमा बोल्दै उनले सरकारले पनि बचतकर्ताको रकम राज्यकोषबाट फिर्ता गर्न नसक्ने बताए ।
उनले बैंकमा संकट आएपछि ‘डेडिकेटेड टिम’ पठाएर समस्या समाधान गरेजस्तै सहकारीमा पनि त्यसै गर्नुपर्ने सुझाए । उनले भने, ‘सहकारीको कार्यालय बन्द गरेर मात्रै होइन, जेलमा पठाइएकालाई पनि नभाग्ने सुनिश्चितता सहित उनीहरुलाई जेलमुक्त गरेर सम्पत्ति व्यवस्थापन र ऋण असुलीका काम गर्दै बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ ।’
सहकारी ठगीको छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति समेत रहेका उनले कुनै पनि वित्तीय संस्था, बैंक, सहकारीको बचत फिर्ताको विषय नेपाल जस्तो देशले राज्य कोषबाट फिर्ता गर्छ भन्ने आफूले नठानेको बताए । पत्रकार कृष्ण आचार्यसँगको संवादमा उनले भने, ‘प्रधानमन्त्रीदेखि सम्बद्ध निकायका सबैसँग छलफल गरेँ, त्यो मैले सम्भव देख्दिनँ,’ उनले भने, ‘बचतकर्ताको बचत फिर्ता सम्बन्धित संस्थाले गर्ने हो । ऋण उठाउने, धितो बिक्री वितरण गर्ने, सम्पत्ति व्यवस्थापन गर्ने कामबाट गर्ने हो, हामीले सिफारिस गरेको पनि यही हो । योभन्दा बाहिर गएर बचत फिर्ताको सम्भावना देखेका छैनौं ।’
सञ्चालकले सदस्य नचिन्ने र सदस्यले सञ्चालक नचिन्ने सहकारीमा मुख्य रुपमा समस्या सिर्जना भएको उनको भनाइ थियो । उनले सबै बचतकर्ताको बचत फिर्ता नै हुन्छ भन्ने पनि सुनिश्चित नभएको बताए । ‘आर्थिक व्यवसायका रुपमा पनि सहकारीलाई आत्मसाथ गर्नुभएको छ भने तपाईंले थालेका सबै व्यवसाय मुनाफामै जान्छन्, प्रतिफल नै दिन्छन् भन्ने होइन,’ उनले भने, ‘नोक्सान पनि बेहोर्नुपर्ने हुन्छ । यो न्यूनतम कुरा हो आर्थिक रुपमा गरिने कारोबार र व्यवसायको । यो पाटोलाई पनि हामीले ध्यान दिनुपर्छ ।’
उक्त सत्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) की सञ्चालक कमला गिरीले नियम कानुन कार्यान्वयन नहुँदा पनि समस्या आएको बताइन् । ‘सहकारीमा अहिले समस्या आएको २०७४ को ऐन र ०७५ को नियमावलीलाई हामीले कार्यान्वयनमा ल्याउन नसकेको कारण पनि हो,’ उनले भनिन्, ‘त्यसपछि हामीले जुन उद्देश्यले सहकारी दर्ता गरियो ती सबै सहकारीले बचत उद्देश्य अनुरुप कारोबार नगर्दा, अनुगमन र नियमन सम्बिन्धित निकायले नगर्दा पनि समस्या आयो ।’
उनले नियम बाहिर गएर चलेका सहकारीका कारण नियमपूर्वक काम गरिरहेकालाई समस्या परेको सुनाइन् । ‘छिमेकी घरमा आगो लाग्दा मेरो घरमा पनि झिल्का आउँछ । नियतवस गर्नेको असर अन्यलाई परेको हो,’ उनले भनिन्, ‘यहाँ हामीसँग गुणात्मक भन्दा संख्यात्मक धेरै छन् । केही सहकारी परेका छन् कोही जेलभित्र पनि परेका छन् तिनीहरुको असर राम्रो गरेकालाई परेको छ ।’ नियतवश ठगेर रातारात धनी बन्ने लोभले सहकारी समस्याग्रस्त भएको उनको भनाइ थियो ।
