काठमाडौँ — जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताप्रतिको मोहका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको बताएका छन् । दाहालले सधैं सत्तामा कसरी टिकिरहने भन्ने सोचेकैले उनको सरकार पतन भएको अध्यक्ष यादवको भनाइ छ ।
केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले दाहालको महत्त्वाकांक्षा एवं अस्थिर अभिव्यक्तिले उनको सरकार ढलेको बताएका हुन् । 'वर्तमान गठबन्धन सरकार दोस्रो संसदीय निर्वाचन पश्चात् पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भयो । तत्पश्चात् प्रचण्डको महत्त्वाकांक्षी एवं अस्थिर अभिव्यक्ति, समय समयमा जालझेल, षड्यन्त्रमूलक
क्रियाकलाप तथा आफू सधैं सत्तामा कसरी टिकिरहने किसिमको गतिविधिले उत्पन्न भएका अविश्वासका कारण उनको सरकार पतन भयो,' अध्यक्ष यादवले प्रतिवेदनमा भनेका छन् ।
१२ सांसद रहेको जसपा गत वैशाखमा विभाजन भएको थियो । यादव अमेरिका भ्रमणमा रहेकै बेला पार्टी फुटेको थियो । यादवले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा पार्टी विभाजन गरिएको आरोप लगाएका थिए ।
जसपा विभाजनपछि अध्यक्ष यादव पक्ष प्रतिनिधिसभामा पाँच सिटमा सीमित भएको छ भने अशोक राई नेतृत्वको जसपासँग ७ सांसद छन् । राई नेतृत्वको जसपालाई वैशाख २४ मा नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ ।
