केयूको चिकित्सा विभाग डिन अफिसमा ताला

मानसिक रोग विभागमा पढ्ने उचित वातावरण भएन : विद्यार्थी, विभागीय प्रमुख र एसोसिएसट प्रोफेसरले दुर्व्यवहार गरेको आरोप

फाल्गुन १८, २०८१

ज्योती श्रेष्ठ

Lock in the Dean's Office of the Department of Medicine, KU

काभ्रे — काठमाडौं विश्वविद्यालयको मेडिकल साइन्सेजको डिन अफिसमा अध्ययनरत रेजिडेन्ट विद्यार्थीले ताला लगाएका छन् । विश्वविद्यालयको मेडिकल साइन्सअन्तर्गत मानसिक रोग विभागमा पढ्ने उचित वातावरण नभएको आरोप लागेको सन्दर्भमा डिन कार्यालयले कुनै छानबिन प्रक्रिया अगाडि नबढाएको आरोप लगाउँदै विद्यार्थीले ताला लगाइदिएका हुन् ।

मानसिक रोग विभाग प्रमुख डा. अजय रिसाल र एसोसिएसट प्रोफेसर डा. दीपक कुँवरले गरेको दुर्व्यवहारका कारण मनोचिकित्सक विषयमा स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थीले गत साता आत्महत्याको प्रयास गरेसँगै यो विवाद उत्कर्षमा पुगेको हो ।

विद्यार्थीमाथि दुव्यर्वहार गर्ने विभागीय प्रमुख र एसोसिएसट प्रोफेसरलाई कारबाही गर्नुपर्ने विद्यार्थीले विश्वविद्यालयको मेडिकल साइन्सेसको डिन डा. मनोज हुमागाईं र डिन कार्यालयसँग माग राख्दै आएका थिए । काठमाडौं विश्वविद्यालयको मेडिकल साइन्सेसअन्तर्गत अध्ययनरत सबै विभागका रेजिडेन्ट विद्यार्थीले डिन डा. हुमागाईं विश्वविद्यालयमा आइपरेको विषम परिस्थितिमा आफ्नो कार्यालयमा उपलब्ध नभएका कारण पनि आफूहरू विरोधमा उत्रिनुको विकल्प नरहेको बताएका छन् ।

सोही विषयलाई लिएर डिनसँग बैठक बसेको शुक्रबार आठौं दिन भइसक्दा पनि डिनबाट ठोस कदम चाल्न नसकेको र डिनद्वारा देखाइएको पक्षपाती कारबाही र निर्णय प्रक्रियामा ढिलाइ गरेको विद्यार्थीको आरोप छ । डिन  हुमागाईंले भने कार्यालयमा ताला लगाइएकोबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

मानसिक रोग विभागका विभागीय प्रमुख डा. अजय रिसाल र एसोसियट प्राध्यापक डा. दीपक कुँवरले त्यहाँ अध्ययनरत विद्यार्थीलाई असह्य हुने गरी दुर्व्यवहार गर्ने गरेको विषयमा नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसियसनले पनि चासो राखेको छ । काउन्सिल र एसोसियसन दुवैका प्रतिनिधिहरूले धुलिखेल अस्पतालमा पुगेर घटनाबारे जानकारी पनि लिएका थिए ।

विभागीय प्रमुख डा. रिसाल र सोही विभागमा कार्यरत एसोसियट प्रोफेसर डा. कुँवर उक्त विद्यार्थीलाई पटक–पटक दुर्व्यवहार गरेकाले विद्यार्थीले आत्महत्याको प्रयास गरेको विश्वविद्यालयको मनोचिकित्सक विभागमा अध्ययनरत विद्यार्थीले नै आरोप लगाएका छन् ।

‘विभागीय प्रमुख प्रा.डा अजय रिसाल र विभागका एसोसिएट प्रोफेसर डा. दीपक कुवँरले उक्त विद्यार्थीलाई इमोसनल र मेन्टल टर्चर दिँदै आएको बुझिएको छ । सामान्य गल्तीमा पनि गाली बेइज्जती गरेर डिमोटिभेट गर्नुहुन्थ्यो । उहाँहरूले एक पटक होइन, धेरै पटक टर्चर गरेका कारण दुर्व्यवहार सहन नसकेर ती विद्यार्थीबाट आत्महत्याको प्रयास भएको हो,’ मनोचिकित्सक विषय अध्ययनरत एक विद्यार्थीले नाम नबताउने सर्तमा भने । विश्वविद्यालयको मानसिक रोग विषयअन्तर्गत स्नातकोत्तर तहको पहिलो वर्षमा ३ जना, दोस्रो वर्षमा २ जना र तेस्रो वर्षमा २ जना गरी ७ जना रेजिडेन्ट विद्यार्थी छन् । उनीहरूका अनुसार, विभागीय प्रमुख र एसोसिएट प्रोफेसरको दुर्व्यवहार भएको यो घटना पहिलो भने होइन । ‘यस विभागमा भएको यो पहिलो घटना होइन,’ एक विद्यार्थीले भने, ‘यसभन्दा अघि पनि यस्तै घटना भइसकेका छन् । एक जना विद्यार्थीले एक वर्ष अघि त्यस्तै दुर्व्यवहारकै कारण आत्महत्याको प्रयास गर्नुभएको थियो । दुर्व्यवहारकै कारण एक जना विद्यार्थीले बीचमै पढाइ छोड्नुभयो ।’

विद्यार्थीका अनुसार, डा. रिसाल र डा. कुँवरले विद्यार्थीहरूलाई भावनात्मक र मानसिक रूपमा प्रताडित गर्दै आएका छन् । पीडित विद्यार्थीका अनुसार उनीहरूले विद्यार्थीको अगाडि मात्र नभइ बिरामीकै अगाडि पनि गाली बेइज्जती गर्ने गरेका थिए । ‘सबै विद्यार्थीको अगाडि मात्रै नभएर बिरामीकै अगाडि उहाँहरूले व्यक्तिगत कुरा भनेर गाली गर्नुहुन्थ्यो । सानो गल्तीमा पनि बेइज्जत गरिदिने । प्रश्न सोध्नेबित्तिकै उत्तर दिन नसकेमा इन्टेलेक्चुवल डिसेबिलिटी भनेर गिज्याउने, वजन, उचाइ र छालाको रंगलाई इंगित गर्दै होच्याउने गर्नुहुन्छ,’ एक विद्यार्थीले भने, ‘विशेष गरेर प्रिजेन्टेसन गर्ने बेलामा उहाँहरूले धेरै नै हर्‍यास गर्नुहुन्थ्यो । त्यस्तै ड्युटीमा पनि बिरामीकै अगाडि गाली गर्दै रिपोर्ट फ्याँकिदिने, जस्ता अनेकन टर्चर दिनुहुन्थ्यो ।’

डा. रिसाल र डा. कुँवरले गर्ने गरेको दुर्व्यवहारविरुद्ध आवाज उठाउन खोज्दा परीक्षामा अनुत्तीर्ण गरिदिने धम्की दिएर तर्साउने गरेको पनि विद्यार्थीले आरोप लगाएका छन् । ‘आफूविरुद्ध कम्प्लेन गर्नेलाई परीक्षामा दुःख दिने, राम्रो नम्बर नदिने गर्नुहुन्छ । ‘थेसिस कसरी गर्छौ तिमीहरू ?, यसको परिणाम तिमीहरूले परीक्षामा देख्नेछौ, जाँचमा पास भइहाल्यौ भने पनि तिमीहरूलाई जागिरका लागि सिफारिस कसले दिन्छ हेरौंला ?’ भन्दै गाली गर्नुहुन्थ्यो,’ एक विद्यार्थीले भने, ‘एक दिनको मात्रै टर्चर होइन । हरेक दिन यहाँका विद्यार्थीले उहाँहरूबाट टर्चरको सामना गर्नुपर्छ । उहाँहरूविरुद्ध केही बोल्न पनि पाइँदैन, बोल्यो भने गाली र धम्की सुन्नुपर्छ ।’

पीडित विद्यार्थीका अनुसार लाखौं खर्च गरेर ३ वर्षे एमडी साइक्याट्रीमा भर्ना भएर बीचमा छोड्न नसकिने भएकैले सबैले सहेर बसिरहेका हुन् । ‘बीचैमा पढाइ छाड्यो भने पुनः पढ्नका लागि दुई वर्षपछि मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ । कडा मेहेनत र लाखौंको लगानी गरेर विद्यार्थी यहाँ पढ्न आएका हुन्छन्,’ नाम नबताउने सर्तमा एक विद्यार्थीले भने, ‘पढ्न आएका विद्यार्थीलाई विभागबाटै टर्चर हुँदा कसरी पढ्न सक्छन् र ? त्यस्तै टर्चरकै कारण एक जनाले बीचैमा पढाइ छाड्ने निर्णय गर्नुभएको थियो । टर्चरकै कारण उहाँलाई नकारात्मक विचार आउन थालेको रहेछ, आफूले भोगेको समस्या घर–परिवारमा राखेपछि केही समयको रिफ्रेसमेन्टका लागि उहाँलाई परिवारले लिएर जानुभयो । केही समयपछि फर्केर पढाइलाई निरन्तरता दिनुभयो, फर्केको केही समयपछि विभागबाट उस्तै व्यवहार हुन थालेपछि बीचमै पढाइ छाड्नुभयो ।’

विद्यार्थीका अनुसार स्नातकोत्तर तहको पहिलो वर्ष अध्ययन गर्दाको पहिलो महिना राम्रै व्यवहार गर्ने गरे पनि त्यसपछिको केही महिनापछि भने कुँवर र रिसालले अनौठो व्यवहार देखाउने गरेका छन् । ‘पढ्न आएका विद्यार्थीलाई पर्सनल कमेन्ट गरेर गाली गर्नुहुन्छ । क्लासदेखि वार्ड र ओपीडी (धुलिखेल अस्पतालको वार्ड र ओपीडी) सम्मै गाली र बेइज्जत गर्नुहुन्छ,’ पीडित विद्यार्थीले भने, ‘सामान्यभन्दा सामान्य त्रुटि हुँदा पनि उहाँहरूको गाली खानुपर्छ । बिरामीको रिपोर्ट कार्ड भेटिएन भने पनि बिरामीकै अगाडि पर्सनल कमेन्ट गरेर गाली गर्ने, थर्काउने गर्नुहुन्छ । उहाँहरूको त्यस्तो व्यवहारबाट आजित भएर मैले गलत निर्णय लिन पुगें ।’

उक्त घटनाको विषयमा जानकारी लिन खोज्दा काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सअन्तर्गत मानसिक रोग विभागका प्रमुख प्रा.डा. अजय रिसालले आफूले अहिले यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए । अस्पतालका मेडिकल डाइरेक्टर डा. बलराम मल्लका अनुसार दुर्व्यवहारको विषय बाहिर आएसँगै सम्बन्धित चिकित्सकहरूसँग स्पष्टीकरण मागिएको छ । उनका ‘नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनले घटनाबारेमा सोधपुछ गरेर गएको छ । स्पष्टकीकरण र एन.एम.सी/एन.एम.एको निर्णयबाट बाँकी कुराहरु खुल्छ,’ उनले भने । उनका अनुसार, विद्यार्थीहरुको मागअनुसार नै मनोचिकित्सक विभाग दुई साताका लागि बन्द गरिएको छ । रिसाल र कुँवर घटनाबारे बयान दिन नेपाल मेडिकल काउन्सिल पुगेका छन् । 

नेपाल मेडिकल एसोसियसनका महासचिव डा. सन्जिव तिवारीका अनुसार रेजिडेन्ट विद्यार्थीले कार्यस्थलमा काम गर्ने र अध्ययन गर्ने वातावरण नभएको भन्दै आफ्नै ज्यान लिने प्रयास गरेपछि उनकै नेतृत्वमा एनएमएको टोलीले धुलिखेल अस्पताल पुगेर त्यहाँ अध्ययनरत विद्यार्थीसँग सोधपुछ गरेको थियो । उनका अनुसार घटना र विद्यार्थीले लगाएको आरोपको सन्दर्भमा डा. अजय रिसाल र डा. दीपक कुँवरसँग विभिन्न माध्यमबाट छलफल गर्ने कोसिस गरिए पनि त्यो हुन सकेको छैन । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully