काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कमीकमजोरी पहिचान गरी देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार कांग्रेस र एमालेसहित अन्य साना राजनीतिक दल मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि गठन भएको बताए ।
नागरिकले सरकारकै सुनिश्चितता छैन कसरी देश विकास गर्छौ ? भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार गठन भएको सिंहको भनाइ थियो । ‘बोलेर मात्रै होइन, काम गर्न गाह्रो छ । भएका कमीकमजोरी पहिचान गरी सुधार गरेर अघि बढ्नेतर्फ यो सरकार गइरहेको छ,’ सिंहले भने ।
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबै कुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्रै कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्नाले समाजलाई सही ठाउँमा नपुर्याउने बताए । राजनीतिक स्थायित्व भए मात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका काम अघि बढ्नसक्ने उनको भनाइ थियो ।
जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको सिंहको दाबी थियो ।
