देश विकासमा एमाले बाधक : पूर्वप्रधानमन्त्री नेपाल 

फाल्गुन १७, २०८१

मनोज पौडेल

UML is an obstacle to the country's development: Former Prime Minister of Nepal

कपिलवस्तु — एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेका नीति, कार्यक्रम मुलुकको विकासका लागि बाधक रहेको आरोप लगाएका छन् । 

एकीकृत समाजवादी पार्टीको ११ औं जिल्ला अधिवेशनका अवसरमा मायादेवी गाउँपालिकाको पकडीमा बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले एमालेमा अहंकारी र घमण्डी प्रवृत्ति हाबी हुँदा मुलुकले विकासको गति पाउन नसकेको बताए । 'एमालेमा दक्षिणपन्थी र व्यक्तिवादी प्रवृत्ति हाबी छ,' उनले भने, 'त्यसैले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त छ ।'

यो सरकारलाई जनताको कामसँग कुनै मतबल छैन । यो सरकारलाई आफ्नो स्वार्थ र फाइदासँग मात्र मतलब हुँदा जनतामा दिनानुदिन निरासा छाइरहेको बताए । उनले देशको परिस्थिति र समग्र विकासका लागि समाजवादी मोर्चा गठन गरेको बताए । उनले सोही सभामा उपेन्द्र यादवलाई परिस्थितिअनुसार अघि बढ्न सुझावसमेत दिए । उनले समाजवादी मोर्चा बनाएर अघि बढ्न परिवर्तनकारी शक्ति एक भई इतिहास बनाउनु पर्ने बताए । अध्यक्ष नेपालले मन्तव्यकै क्रममा हिन्दी भाषामा ४ फरक फरक सायरी सुनाएका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार स्वेच्छाचारीमा चलेको आरोप लगाए । 

अध्यक्ष नेपालले माओवादी परित्याग गरी आएका संविधानसभा सदस्य रामलौटन तिवारी, मायादेवी गाउँपालिका पूर्वउपाध्यक्ष गिता तिवारी र सुरेन्द्र तिवारी लगायतका नेता र कार्यकर्तालाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।

मनोज पौडेल

Link copied successfully