सरकारले लागुऔषध विरुद्धको लडाइँमा विजय प्राप्त गर्छ : गृहमन्त्री

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Government wins war on drugs: Home Minister

काठमाडौँ — लागुऔषध विरुद्धको लडाइँमा सरकारले विजय प्राप्त गर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । नेपाललाई लागुऔषध मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने पनि उनको भनाइ थियो ।

नेपाल प्रहरीले शनिबारदेखि सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान कार्यक्रममा गृहमन्त्री लेखकले तीन वटा तहकै सरकारले लागुऔषध विरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए ।

'अहिले हामी संघीयतामा छौं । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । यो अभियानलाई वडा वडास्तरमा पुर्‍याउन सकियोस् । पालिकाहरुले पनि यसलाई एउटा अभियानका रुपमा अघि बढाउन जरुरी छ,' गृहमन्त्री लेखकले भने, 'म मेरोतर्फबाट प्रतिबद्ध छु । नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्ने गतिविधिमा के-के गर्नुपर्छ म तयार छु । यसका विरुद्धको लडाइँमा विजय प्राप्त गर्छौं ।'

६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन गृहमन्त्री लेखकले आग्रह गरे । छोटो समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको बताए ।  

लागुऔषध मुक्त मुलुक बनाउनका लागि स्कुल, क्याम्पस, युवा क्लब, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी संगठनहरूलाई अभियानमा संलग्न गर्नुपर्ने गृहमन्त्रीको भनाइ थियो । 'राष्ट्रलाई केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ,' उनले भने, 'लागुऔषध दुर्व्यवहारमा पर्न नदिने स्थिति निर्माण गर्ने एउटा पाटो छ भने अर्को यसको ओसारपसार, व्यापार, भण्डारण गर्ने अपराधिक गतिविधिमा प्रहरीको काम छ । खोज्ने, समात्ने, हेर्ने गर्नुपर्छ । कडाइका साथ काम गर्नुपर्छ । निवारण गर्ने काममा हामी समाज लाग्नुपर्छ ।'

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मूल कारण लागुऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उनको भनाइ थियो । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully