सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–२ गुम्बेडाँडा गाउँका ४८ वर्षीय करे तामाङको घर २०७२ को भूकम्पले ढाल्यो । त्यसपछि सरकारी अनुदानको सहयोगमा बल्लतल्ल उनले घर बनाए ।
तर शुक्रबार बिहान त्यही ढुंगामाटोको घर फेरि भत्किएको छ । ढुंगामाटो र जस्तापताले छाएको दुईकोठे घर शुक्रबार बिहान भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएको घर ढलायो । घर ढले पनि मानवीय क्षति भने व्यहोर्नुपरेन । ज्यान जोगाउन भाग्नेबेला उनकी पत्नी भने घाइते भइन् ।
‘पहिलेको भूकम्पपछि जेनतेन बनाएको घर पनि यो भूकम्पले ध्वस्त बनाइदियो, आर्थिक अभावबीच फेरि घर कसरी बनाउने हो?, श्रमतीको उपचार पनि गर्नैछ,’ तामाङले भने ।
राति भूकम्प आएपछि ज्यान जोगाउन भाग्ने क्रममा उनकी ४२ वर्षीया पत्नी गीताको बाँया हात र ढाडमा पर्खालको ढुंगा लागेर घाइते भएकी छिन् ।
एम्बुलेन्ससम्म बोलाउने खर्च पनि नभएपछि घाइते शरीरका साथ घरमै थन्किएकी गीतालाई अहिले उद्धार गरी उपचार गरिएको छ । बाह्रबिसे नगरपालिका वडा २ का अध्यक्ष रेशमबहादुर तामाङकाअनुसार नगरको सवारीमा उनलाई उद्धार गरेर काठमाडौंको वीर अस्पताल उपचारर्थ लगिएको हो ।
आहिले वीर अस्पतालमा उनको उपचार भइरहेको छ । वडाध्यक्ष तामाङ, वडासदस्य र नगरका विपद् संयोजक दुर्गाप्रसाद भण्डार्रीले तामाङको विपन्न र दयनीय अवस्था देखेर पारिश्रमिकबाट नगद सहयोग गरेका थिए । भूकम्पबाट दोहोरो पीडित बनेका तामाङ परिवारका लागि हाल अस्थायी टहरा भए पनि पक्की घर निर्माणका लागि प्रक्रिया अघि बढ्ने र आर्थिक सहयोग गरिने बाह्रबिसे नगरपालिकाले जनाएको छ ।
तामाङजस्तै पीडामा छन्, जुगल गाउँपालिका वडा ५ वाङ्कुचेका ५१ वर्षका कार्पु लामा । ०७२ सालको भूकम्पको चार वर्षपछि बनाएको भुइँतले घर पनि शुक्रबारको भूकम्पले चर्काएर क्षतिग्रस्त बनेपछि बस्न नमिल्ने भएको छ । अर्को पटक भूकम्प आउने त्रासमा उनले घरबाट सामान अर्को अस्थायी आवासमा सारेका छन् ।
‘भागेर ज्यान त जोगाइयो, तर घर जोखिमपूर्ण बनायो, अर्को घरमा सामान सारेको छु , अब अर्को पराकम्पले घर ढाल्ने जस्तै छ ,’ उनी भन्छन् । शुक्रबार भोटेकोशी गाउँपालिकाको शिरभेगस्थित भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको ६ दशमलव १ रिक्टरको भूकम्पबाट बचेर भाग्न खोज्दा तामाङकी श्रीमतीसहित जिल्लाभर तीन जना घाइते भएका थिए ।
चौतारास्थित जिल्ला कारगारमा पुर्पक्षको लागि थुनामा रहेका भोटेकोशी गाउँपालिका– ५ का ३३ वर्षका स्याङ्बो तामाङ र बाह्रबिसेमा कपडा बिक्री रामचन्द्र शाह घाइते भएका छन् । घाइतेको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । भूकम्पले इप्रका कोदारीको भवनमा क्षति पुगेको छ ।
शुक्रबार बिहान प्रसिद्ध आमाछ्योमेन अर्थात् भैरवकुण्ड लक्षित भूकम्पपछि सीमाक्षेत्रसहित गाउँदेखि बजारभरका स्थानीय फेरि भूकम्प आउने त्रासमा घरबाट बाहिर निस्किएर बसेका थिए । भोटेकोशी गापा ३ का अध्यक्ष निमासोना शेर्पाले यहाँको तुसारेस्थित भिरमा सुख्खा पहिरो झरे पनि अन्यतिर दु:खद् घटना नभएको बताए । ‘यहाँका खण्डहर बनेका घर थप चर्किएका छन्, तर मानवीय र ठूलो क्षति छैन,’ उनले भने ।
