सिरहा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिरहा आफ्नो 'माइतीघर' भएको बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित मधेश जनजागरण अभियानका क्रममा शुक्रबार साँझ भगवानपुर चोकमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
आफूलाई २०७० सालमा अप्ठ्यारो परिस्थितिमा सिरहाले चुनाव जिताएको र दोस्रोपल्ट देशको नेतृत्व गर्ने अवसर दिएको भन्दै सिरहाप्रति नतमस्तक रहेको दाहालले बताए । ‘सिरहा आउँदा माइतीघर आएको महसुस हुन्छ,’ दाहालले भने, ‘यसबारे मैले सबै ठाउँमा व्याख्या गर्ने गर्छु ।’
यहाँको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका समस्याबारे आफू जानकार रहेको भए पनि केही गर्नै खोज्दा आफूलाई सत्ताच्यूत गर्ने गरिएको दाहालले सुनाए । ‘पछिल्लोपटक पनि देशमा केही गरेरै देखाउन सुशासन र समृद्धिको अभियान चलाएको थिएँ,’ उनले भने, ‘तर, दलाल र विचौलियाहरुले सरकारै ढालिदिए ।’
दाहालले सिरहा र सप्तरीको सीमामा रहेको बलान नदीमा तटबन्ध, ठाडी–लहान चार लेन सडक, ठाडी भन्सारमा क्वारेन्टाइन निर्माणलगायतका कार्यका लागि पहल र सरकारलाई दबाब दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
