‘कन्डम ट्याम्पोनेड’ विधिबाट ‘आमा’को ज्यान जोगाइरहेकी पार्वती

करिब २० वर्षे सेवा अवधिमा यही विधिको प्रयोग गरेर जोखिममा रहेका ४२ आमालाई बचाएको पार्वतीको दाबी

फाल्गुन १६, २०८१

प्रकाश बराल

Parvati is saving her mother's life with the 'condom tamponade' method

बागलुङ — गत वर्ष घरमै प्रसूति भएकी बडिगाड गाउँपालिका–८ की एक महिलाको अत्यधिक रक्तस्राव भयो । प्रसूतिपछिको रक्तस्रावले घरमै बेहोस भएपछि परिवार र छिमेकीले ८ घण्टा स्ट्रेचरमा बोकेर तत्कालीन बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र हालको बुर्तिवाङ अस्पताल पुर्‍याए ।

राति १ बजे स्वास्थ्य संस्था पुर्‍याउँदा रगताम्य रहेकी उनको होस थिएन । शिशुको भने अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको थियो । 

आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले फोन गरेर नर्स पार्वती अर्याललाई बोलाए । बुर्तिवाङ अस्पतालकी नर्स अर्यालले प्रसूतिपछिको रक्तस्रावलाई नियन्त्रण गर्न ‘कन्डम ट्याम्पोनेड’ विधि प्रयोग गरिन् । र, ती सुत्केरीको ज्यान बचाइन् । पाठेघर फुटेर बगेको रगत तत्काल रोक्न उनले उक्त विधि प्रयोग गरेको बताइन् । तालिम र अनुभवले अर्यालले उक्त विधिले ती महिलाको ज्यान बचाउन सकेकी हुन् । ४ सय मिलिलिटर स्लाइनसहित पाठेघरमा कन्डम राखेर फुलाएपछि त्यसको दबाबले बिरामीको रक्तस्राव कम 

गराएको उनले सुनाइन् । रक्तस्राव रोकिएको ४ घण्टामा बिरामीको होस आएको उनको अनुभव छ । दुई दिनसम्म उपचार गरेपछि ती युवती निको भएर घर फर्केकी थिइन् । ‘कन्डम ट्याम्पोनेड रक्तस्राव रोक्ने अचुक औजार हो,’ अर्यालले भनिन्, ‘यो विधिले रक्तस्राव रोकेर आमाको ज्यान बचाउन सकिन्छ ।’ त्यसपछि पनि जटिल भए मात्रै सुविधासम्पन्न अस्पताल पठाउन सकिने उनले बताइन् ।

सदरमुकामदेखि ९० किमि पश्चिमको बुर्तिवाङ अस्पतालमा भेटिने ५० वर्षीया स्टाफ नर्स पार्वतीको सेवा अवधि २० वर्ष नजिक पुग्यो । यसअवधिमा अधिकांश समय उनले ग्रामीण र दुर्गम स्थान रोजेकी छन् । १२ वर्ष त बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिताइन् । त्यसबाहेक तमानखोलाको बुंगादोभानमा पनि सेवा दिइन् । छोटो अवधिका लागि मात्र उनले सदरमुकाममा काम गरेकी थिइन् । 

सेवा अवधिमा ‘कन्डम ट्याम्पोनेड’ विधिले ४२ जना आमाको ज्यान बचाएको उनको अनुभव छ । नियमित उपचारबाट त सयौंको ज्यान बचाउन सहयोग गरेकी अर्यालले ‘कन्डम ट्याम्पोनेड’ विधिबाट मात्रै ४२ आमाको ज्यान बचाएको दाबी गर्छिन् । जटिल अवस्थामा अर्यालले नियमित उपचारबाहेक ‘कन्डम ट्याम्पोनेड’ प्रयोग गर्दै आएकी छन् ।

यो विधिलाई मेडिकल साइन्सले पनि अनुमति दिएको धौलागिरि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा एनेस्थेसियोलोजिस्ट डा. अमित ढुंगानाले बताए । ‘यो विधिले तत्काल रगत बग्न दिँदैन, त्यसपछि अन्य उपचार गर्न सकिन्छ,’ उनले भने, ‘अकालमा मृत्युबाट बचाउन यो विधिलाई नर्सहरूले उपयोग गर्छन् ।’ दक्ष र तालिमप्राप्त नर्सले मात्र यो काम गर्न सक्ने उनले बताए ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विजय ओझाले यो विधि ग्रामीण क्षेत्रमा सुत्केरी अवस्थामा महिलाको ज्यान बचाउने उत्तम उपाय भएको बताए । ‘अधिकांश समस्या त कन्डम टेम्पोनेड विधिले निको हुन्छ, एक/दुईलाई भने सुविधासम्पन्न अस्पतालमा शल्यक्रियाका पठाउनुपर्ने हुन्छ,’ ओझाले भने, ‘ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा काम गर्ने नर्स र अनमिलाई समेत यो विधिमा अभ्यस्त हुन लगाइन्छ ।’ त्यसका लागि कण्डोममा ४ सय देखि ५ सय मिलिलिटर स्लाइनपानी राखेर पाठेघरसम्म पुग्ने गरी राख्नुपर्ने उनले बताए । पछिल्लो समय अर्यालले नै ६० जनालाई यो विधिबारे तालिम दिइसकेकी छन् । 

तालिम लिएका केही अनमिले पनि यो विधि प्रयोगमा ल्याउन थालिसकेको उनले बताइन् । मातृ तथा नवजात शिशुसम्बन्धी तालिममा यो विधि अटाउनुपर्ने उनले सुझाउने ग्रामीण स्वास्थ्य सुधार परियोजनाका कार्यक्रम व्यवस्थापक गणेश बरुवालले बताए । उनको सीप यति बेला धेरै स्वास्थ्य संस्थामा पुगेको उनले जानकारी दिए । ग्रामीण क्षेत्रमा ‘नो होम डेलिभरी’ अझै पूर्ण नभएकाले यो विधि गाउँमा काम गर्ने अनमिलाई समेत चाहिएको उनले बताइन् ।

‘यो विधि प्रयोग गरेपछि २४ घण्टासम्ममा अन्य सुविधासम्पन्न अस्पतालमा बिरामी पठाउन सकेमा त्यतिन्जेल रक्तस्राव रोकेर बिरामीलाई बचाउन सकिन्छ,’ अर्यालले भनिन्, ‘धेरैजसो भने यो विधि अपनाउनेबित्तिकै रक्तस्राव रोकिएर पहिलेकै अवस्थामा फर्कन सक्छन् ।’ 

प्रसूतिबाहेक अप्रेसन थिएटरदेखि बालरोग, वार्ड, नर्सिङ स्टाफहरूको भूमिका, प्रशिक्षण, संक्रमण रोकथाम, नगरपालिकाको उपस्वास्थ्य संयोजक, अस्पताल नर्स र लजिस्टिक इन्चार्जका रूपमा काम गरेको अनुभवसमेत अर्यालसँग छ । 

अस्पतालका प्रमुख डा. नवीन्द्र ढकालका अनुसार प्रसूति सेवामा अर्यालको भूमिकाले अस्पतालको विश्वास बढाएको बताए । नगरपालिकाका कावा प्रमुख धनबहादुर कायतले अर्यालको उपस्थितिले ग्रामीण क्षेत्रमा महिला स्वास्थ्यमा धेरै सहयोग पुगेको बताए ।

‘हरेक वर्ष ५ देखि ७ जनासम्म प्रसूतिकै बिरामीको हेलिकोप्टरबाट उद्धार गर्नुपरेको छ,’ कायतले भने, ‘उहाँ जस्तो दक्ष नर्स नभए अझै धेरै खर्चेर बिरामी बाहिर पठाउनुपर्ने बाध्यता पर्नेछ ।’ अर्यालजस्तै दरबन्दीअनुसारका नर्स र डाक्टर बुर्तिवाङमा चाहिएको उनले बताए । अहिले पनि यहाँ कम्तीमा ५ जना नर्स र ३ जना डाक्टर आवश्यक परेको ढकालले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully