५ सन्तानका बुबाआमा एकै वर्षमा बिदा भए

भारतमा रहेका १४ वर्षीय बालक आमाको मृत्युबारे बेखबर, किरियामा बसेका दुई भाइ र दुई बहिनीलाई एक छाक पनि मुस्किल

फाल्गुन १६, २०८१

मेनुका ढुंगाना

Parents of 5 children passed away in the same year

अछाम — एक वर्षको अन्तरालमा बुबाआमा दुवैको मृत्यु भएपछि उनीहरूका ५ सन्तानको बिचल्ली भएको छ । जिल्लाको दुर्गम ढकारी गाउँपालिका-७ थाराका ४६ वर्षीय रामबहादुर नेपालीको गत वर्ष भारतमै मृत्यु भएको थियो । पतिको मृत्युपछि ४३ वर्षीया ममता सन्तानसहित घर फर्किइन् ।

बाउबाजेको थातथलो कुरेर बसेका देवर प्रकाशको घरमा सन्तानसहित बस्दै आएकी उनको पनि आइतबार मृत्यु भयो । बेलाबेलामा बेहोस भइराख्ने र शरीरमा फोका आउने समस्याबाट पीडित ममतालाई उपचारका लागि माइतीले भारत लगेका थिए, फर्किएको ६ दिनमा उनको पनि निधन भएको हो । 

लामो समयसम्म छोराछोरीसहित भारत बसे पनि पति रामबहादुर बितेपछि गुजारा गर्न नसक्दा आफन्तको सहारा खोज्दै ममता सन्तान लिएर गाउँ फर्किएकी थिइन् । बुबाआमा दुवै बितेपछि काकाको शरणमा रहेका बालबालिका विलखबन्दमा परेका छन् ।

विपन्न परिवार भएकाले उनीहरूको पालनपोषणमा नै समस्या देखिएको छ । जेठो छोरा १४ वर्षीय तुला भारतमै छन् । सानै उमेरमा बुबाआमासँगै भारत गएका उनी कोसँग बसिरहेका छन् र कुन अवस्थामा छन् भन्ने घरमा भएका चार भाइबहिनीलाई खबरसम्म छैन । 

आमाको मृत्युपछि गाउँलेको सहयोगमा अन्तिम संस्कार गरेर अहिले ११ वर्षीय छोरा दिनेश र ८ वर्षीय छोरा पारस किरियापुत्री भएर बसेका छन् । ‘बुबाआमाले हामीलाई भारतमै लग्नुभयो, एक वर्ष अगाडि बुबाको मृत्यु भएपछि सबै जना घरमा आयौं, दाइ उतै छुटेछ,’ दिनेश भन्छन्, ‘बुबालाई इन्डियामा चेक गर्दा क्यान्सर देखियो, अब सन्चो हुँदैन भन्थे, बित्नुभयो । घर आएपछि आमा पनि बिरामी भई उपचार नपाएर बित्नुभयो ।’

घरजग्गा केही नभएपछि काका प्रकाशको घरमा बसेर आमाको अन्तिम संस्कारको काम गरिरहेको दिनेश बताउँछन् । ‘आमाको १३ दिनको काम सकिएपछि के गर्ने थाहा छैन,’ उनी भन्छन्, ‘मभन्दा पछि एक भाइ र दुई बहिनी छन् । बस्ने घर छैन । लगाउने लुगा छैन । खाने, बस्ने टुंगो छैन ।’ ८ वर्षीय भाइ पारस, ६ वर्षीया बहिनी कल्पना र ४ वर्षीया बहिनी खकीसराको सबै जिम्मेवारी दिनेशमाथि आएको छ । ‘हामी कोही पनि स्कुलमा भर्नासम्म भएका छैनौं, बम्बै बसेका बेला बुबाआमाले कमाएको पैसाले औषधि उपचार गर्न र खान पनि पुग्दैथ्यो,’ दिनेशले सुनाए ।

‘पैसा नभएकाले भाउजूको पनि उपचार नपाएर मृत्यु भएको हो,’ दिनेशका काका प्रकाश भन्छन्, ‘बेलाबेलामा बेहोस हुने र रुने, कराउने गर्नुहुन्थ्यो, शरीरमा ठूला फोका आएका थिए, जीउ सुन्निएको थियो ।’ 

दाइको मृत्युपछि भाउजूलाई कहिल्यै सन्चो नभएको उनले बताए । दुई महिनाअघि शरीर सुन्निएर फोका आएपछि माइतीले उपचारका लागि भारत बोलाएका थिए । ‘आर्थिक अवस्था कमजोर भएकाले राम्र्रो अस्पतालमा उपचार भएन,’ प्रकाश भन्छन् , ‘यताबाट लगेको भन्दा झन् गाह्रो भएको अवस्थामा घर फर्काइयो । उता ल्याएको ६ दिनमै भाउजूको पनि मृत्यु भयो ।’

दाइको मृत्युपछि भाउजूलाई उपलब्ध हुने एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ताले गुजारा गर्दै आएकामा अब त्यो पनि नपाउने भएपछि छाक टार्नै मुस्किल भएको उनले बताए । ‘मेरा पनि चार छोराछोरी छन् । पानी परे चुहिने, हावा लागे छाना उडाउने सानो घर छ । म पनि भारतमै गएर गुजारा चलाउँछु । सबैलाई हेर्न सक्ने अवस्था मेरो पनि छैन,’ उनले भने, ‘किरिया बसेका बेलामा समेत एक छाक राम्रो खान दिन सकेको छैन । यताका जान्ने, बुझ्ने मान्छेलाई सहयोग गरिदिनुस् भन्यौं, कसैले वास्ता गरेनन् ।’

आफ्नै घरछेउकै घटना भए पनि विभिन्न कार्यक्रममा जानुपर्ने व्यस्तताले पीडित परिवारलाई भेट्ने फुर्सद नमिलेको ढकारी गाउँपालिका–७ का वडाध्यक्ष रामबहादुर थापा बताउँछन् । ‘ती महिला बिरामी छिन्, विपन्न र आर्थिक अवस्था कमजोर भएकाले एक महिना अगाडि उपचार खर्च ५ हजार रुपैयाँ दिने भनेर वडाबाट निर्णय भएको हो,’ वडाध्यक्ष थापा भन्छन्, ‘छोराछोरी सानै छन्, पैसा कसको हातमा दिने भन्ने पनि टुंगो भएन, मैले पनि भेट्न जानलाई समय मिलाउन सकेको छैन ।’

बालबालिकाका आमाबुबा दुवैको मृत्यु भएको घटनाबारे बिहीबार दिउँसो मात्र जानकारी पाएको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले बताए । ‘गाउँपालिकाबाट गर्नुपर्ने आर्थिक सहयोगका साथै अन्य के गर्न सकिन्छ त्यसका लागि हामी तयार छौं,’ अध्यक्ष साउद भन्छन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully