केपी ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ : अध्यक्ष नेपाल

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

KP Oli is the 'master' of breaking laws and constitution: President Nepal

काठमाडौँ — एकीकृत समाजवादी(एस) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानुन र विधिसँग कुनै मतलब नभएको आरोप लगाएका हुन् ।

'अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । र त्यो कुराप्रति उहाँ गौरवबोध गर्नुहुन्छ । उहाँलाई संविधानसित मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलव छैन । जतिधेरै छलफल गर्‍यो त्यति राम्रो हो । विधिको पालन गर्नु अनिवार्य नै हो,' अध्यक्ष नेपालले भने । 

संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्तासमेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको आरोप नेपालको छ । संसद्‍ अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरू सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने उनको भनाइ छ । 

भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको अध्यक्ष नेपालको आरोप छ । उनले वर्तमान सरकासँग देश विकासको लागि कुनै खाका नरहेको टिप्पणी गरे । 

कान्तिपुर

Link copied successfully