काठमाडौँ — गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् । शुक्रबारर काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसनले नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सरकारले शिक्षा संसद्मा रहेको शिक्षा विधेयक सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।
कानुनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, 'विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितलाई केन्द्रीय विषयवस्तुको चारैतर्फ राखेर सबैका सन्तुलित कानुन बन्छ । तपाईँहरूको लगानी खेर जान दिइँदैन ।'
संघीय संसद्मा निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको गृहमन्त्री लेखकको भनाइ छ ।
