सहकारीले ५२ करोड ३२ लाख ८२ हजार ऋण लगानी गरेकामा अध्यक्षको परिवारले मात्र करिब ४८ करोड लगेको छ र तिरेको छैन
पोखरा — म्याग्दीको बेनीस्थित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको करिब ४८ करोड रुपैयाँ नक्कली कागजातका आधारमा संस्थाका अध्यक्ष राजेश शाक्यका परिवारले अपचलन गरेको पाइएको छ । एमालेका जिल्ला नेता शाक्य र उनका परिवारका सदस्यले धितो नराखी सहकारीमा जम्मा भएको रकमको ९१ प्रतिशत रकम ऋण लिएका हुन् ।
शाक्य म्याग्दी जिल्लाका एमाले सचिवालय सदस्य हुन् । उनी हाल म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत छन् । अध्यक्षले नै रकम हिनामिना गरेपछि करिब १४ सय बचतकर्ताको रकम जोखिममा परेको छ ।
शाक्य र उनका परिवारले ऋण लिँदा धितोसमेत राखिएको छैन । उनीसहित श्रीमती, दाजु, दुई दिदी र भतिजका नाममा ४७ करोड ९९ लाख २९ हजार १ सय ३८ रुपैयाँ ऋण लगिएको देखिएको छ ।
अध्यक्ष शाक्यले ३३ करोड ६८ लाख, शाक्यकी श्रीमती रेश्मा श्रेष्ठ शाक्यका नाममा ९ लाख ५० हजार, दिदीहरू सुलोचनाकुमारी शाक्यको नाममा ४ करोड ८० लाख र आशामाया शाक्यको नाममा १ करोड ८४ लाख, दाजु डम्बरबहादुर शाक्यको नाममा ४ करोड ६० लाख तथा भतिजा सिद्धार्थ शाक्यले ३ करोड ऋण लिएका छन् । सहकारीले ५२ करोड ३२ लाख ८२ हजार ऋण लगानी गरेकामा अध्यक्षको परिवारले मात्र करिब ४८ करोड लगेको छ र तिरेको छैन ।
एक वर्षअघि २७ जना बचतकर्ताले रकम फिर्ता माग गरेपछि सहकारीमा भएको अनियमितता बाहिर आएको हो । अनियमितता बाहिर आएको एक वर्ष बितिसक्दा पनि कारबाहीे प्रक्रिया भने अघि बढाइएको छैन । अध्यक्ष शाक्यले घरपरिवारका सदस्यको नाममा कर्जा लगे पनि उनी आफैंले त्यो सबै रकम चलाएको देखिने छानबिन समितिको प्रतिवेदनमा औंल्याइएको छ । म्याग्दी जिल्ला एमाले सचिवालय सदस्य रहेकाले ‘राजनीतिक शक्ति’ का कारण त्यत्रो कर्जा लगेर भुक्तानी नगर्दासमेत उनमाथि कारबाही हुन नसकेको हो ।
कस्तुरीका व्यवस्थापक लोकबहादुर पुन बेनीकै कुमारी सहकारीको १ अर्ब ४९ करोड हिनामिनामा संलग्न भएको प्रमाणका आधारमा थुनामा छन् । एक वर्षअघि नै बेनी नगरपालिकाका मेयर सुरत केसीको संयोजकत्वमा छानबिन हुँदा कस्तुरीको रकम हिनामिना तथ्य सार्वजनिक भए पनि असुली, अनुसन्धान र कारबाही प्रक्रिया सुरु भएको छैन । मेयरको संयोजकत्वमा भएको छानबिन समितिमा त्यतिखेर बेनीका उपमेयर ज्योति लामिछाने, तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्र पन्त, बेनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल सदस्य थिए ।
छानबिन समितिको सदस्य रहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी पन्तले शाक्यको घरजग्गा आफ्नै पत्रका आधारमा रोक्का गरिएको जानकारी दिए । पन्त हाल बागलुङ कारागार कार्यालयमा कार्यरत छन् ।
सहकारीको रकम अपचलनबारे छानबिन गरेका मेयर सुरत केसीले गत चैतमा आफूहरूले छानबिन गर्दा त्यहाँ आर्थिक अनियमितता गरिएको यकिन भएको स्वीकार गरे । ‘रकम हिनामिना गरेको देखिन्छ,’ केसीले भने, ,‘हिनामिनाका आधारमा अध्यक्षको सम्पत्ति रोक्का गरिएको छ । ऋण लगेअनुसारको धितो राखेको पनि देखिन्न ।’ उनका अनुसार फागुन १६ मा उक्त सहकारीको साधारणसभा छ । ‘साधारणसभाले नै रकम असुलीबारेमा केही निर्णय गर्ला,’ उनले भने ।
मेयर केसीका अनुसार अनियमितताबारे कसैले पनि ‘कारबाही गरिपाऊँ’ भनेर उजुरी नदिएकाले औपचारिक प्रक्रिया सुरु नभएको हो । ‘कारबाहीको माग गर्दै कसैले उजुरी गरेकै छैन, कसरी कारबाही गर्ने ?’ उनले भने, ‘साधारणसभाले नै केही निर्णय गर्ला र प्रक्रिया अघि बढ्ला ।’
कस्तुरी सहकारीमा ११ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । कस्तुरी सहकारीमा भएको आर्थिक अनियमितताबारे प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफूलाई जानकारी नभएको बताए । ‘म आएको ६ महिना भयो, कसैले उजुरी गरेको छैन,’ उनले भने, ‘अब कुन ठाउँमा अनियमितता छ भनेर खोज्दै हिँड्ने कुरा भएन, अब बुझौंला ।’
कुमारीको बचत हिनामिनामा २५ जनालाई मुद्दा
म्याग्दीको बेनीमै रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा डेढ अर्ब रकम हिनामिना गरेका एमाले नेता एवं जिसस प्रमुख राजकुमार थापासहित २५ जनाबाट १ अर्ब १३ करोड बिगो मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । थापासहित रकम हिनामिनामा संलग्न ६ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमै छन् ।
सहकारी रजिस्ट्रार कार्यालयमा परेको निवेदनका आधारमा १५ महिनाअघि कुमारी सहकारीमा छानबिन थालिएको थियो । सहकारी रजिस्ट्रार कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमको संयोजकत्वमा गरेको छानबिनमा थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड हिनामिना गरेको ठहर गरिएको छ ।
थापाले सहकारीको रकम आफूखुसी लगेर आफ्नो निजी बोर्डिङ स्कुलमा लगानी गरेका थिए । उनैले त्यहाँको रकम लगेर पर्वतको जलजला गाउँपालिका र कास्कीमा समेत घरजग्गा कारोबार गरेका थिए । सहकारीको रकम लैजाँदा ऋणको तमसुक गर्ने र कर्जा लिएबापत घरजग्गा रोक्कासमेत गरेका थिएनन् । सहकारीको रकम सोझै लगेर घरजग्गा कारोबारमा समेत लगानी गरेर बिक्री गरी मुनाफा कमाएका आधारमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउनुपर्नेमा भने सरकारी वकिलले उन्मुक्ति दिएका छन् ।
जिल्ला प्रहरीका प्रवक्ता सागर पौडेलले गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नु भनेकाले सरकारी वकिलसँग लिखित राय मागेको बताए । ‘सहकारी कार्यालयको पत्रका आधारमा राय मागेका थियौं, तर सरकारी वकिल गोविन्द उपाध्यायले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन मान्नुभएन,’ अनुसन्धान अधिकृत पौडेल भन्छन्, ‘त्यसपछि सहकारी ठगीअनुसार मुद्दा बुझाइएको हो ।’
कुमारी सहकारीमा भएको अनियमितता छानबिन गरेका सहकारी रजिस्ट्रार कार्यालय पोखराका वित्तीय विश्लेषक निर्मल गौतम कुमारीमा रकम हिनामिनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान अघि बढाउन कुनै अप्ठ्यारो नहुने बताउँछन् । ‘यस्तै प्रकृतिका अन्य सहकारीका मुद्दामा सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान भइरहेको छ, त्यहाँ किन गरिएन, यो आश्चर्यको विषय हो,’ गौतमले भने ।
सरकारी वकिल कार्यालयले बिहीबार ढिलो गरी कुमारी सहकारीका वर्तमान तथा पूर्व संञ्चालकहरु, ब्यवस्थापक, ऋण समिति समेत २५ जनालाई विपक्षी बनाई अदालतमा अभियोग पत्र दर्ता गरेको हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा अभियोगमा मुद्दा दायर भएका माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य तथा मंगला गाउँपालिका-३ बरंजाका वडाध्यक्ष यामबहादुर रोका समेत अन्य १९ जना फरार रहेका छन् ।
माओवादी नेता तथा वडाध्यक्ष रोका महिला सदस्य भेषकुमारी पुनलाई कार्यवाहक दिएर पछिल्लो २५ दिनदेखि सम्पर्कविहीन रहेको मंगला गाउँपालिकाले पुष्टि गरेको छ । सहकारीको स्थापनाकालदेखि विभिन्न पदमा रहँदै आएका यामबहादुर रोका अहिलेका अध्यक्ष र पूर्व संञ्चालक हुन् ।
