काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डिजिटल उपलब्धिको प्रयोग गरेर अपराध नियन्त्रणका कामभन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक रहेको बताएका हुन् ।
डिजिटल अपराध भएमा सही र निष्पक्ष छानबिन र कारबाहीसमेत हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 'सही अभियोजन हुन सकोस्, गल्ती अनुसारको सजाय होस्, अपराधी गर्ने नछुटून्, निर्पराध नफसोस् । यस कुरालाई ध्यानमा राखेर प्रभावकारी ढंगबाट काम गर्नुपर्छ । न्याय निरुपण अझ महत्त्वपूर्ण छ । आज राजनीतिक बाउन्ड्री, देशका सीमाहरूले अपराधलाई रोक्दैन । डिजिटल क्राइम अझ बढी सीमाको वास्तै गर्दैन । त्यसअर्थ आज सीमाभित्रका मात्रै प्रयासले पनि डिजिटलको प्रयोग गरेर डिजिटल युगमा गरिएका अपराधहरु एक्लो देशको प्रयासले नियन्त्रण हुँदैनन्,' उनले भने ।
