कस्तुरी सहकारीको ऋण लगानी ५२ करोड : अध्यक्षको परिवारमा मात्रै ४८ करोड

नक्कली कागजातका भरमा ११ सय बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी अध्यक्ष राजेश शाक्यमाथि कारबाही अघि बढेन

फाल्गुन १५, २०८१

नारायण शर्मा

Kasturi Sahakari's loan investment is 52 crores: 48 crores in the chairman's family alone

पोखरा — म्याग्दीको बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम नक्कली कागजातका आधारमा अध्यक्षका परिवारले लगेको पाइएको छ । कस्तुरी सहकारीका अध्यक्ष राजेश शाक्यले धितो नराखी सहकारीमा जम्मा भएको रकमको ९१ प्रतिशत रकम ऋण लिएका हुन् । ऋण लिँदा जग्गा लगेको ऋण खाम्ने धितो समेत राखिएको छैन ।

सहकारीका अध्यक्ष शाक्यको श्रीमती,दाजु ,दुई जना दिदी,भतिजका नाममा ४७ करोड ९९ लाख २९ हजार १ सय ३८ रुपैयाँ ऋण लगिएको छ । यो सहकारीमा जम्मा भएका बचतकर्ताहरूको रकमको ९१ प्रतिशत हो । सहकारीले कूल ५२ करोड ३२ लाख ८२ हजार ऋण लगानी गरेको छ । कूल लगानी गरिएको ५२ करोडमध्ये शाक्यको एउटै परिवारका सदस्यहरूले करिब ४८ करोड ऋण लगेर नतिरेपछि करिब ११ सय बचतकर्ताहरूको बिचल्ली भएको छ ।  

एक वर्षअघि २७ जना बचतकर्ताले रकम फिर्ता मागेपछि सहकारीमा भएको अनियमितता बाहिर आएको हो । एक वर्ष बितिसक्दा पनि छानबिन र कारबाही भएको छैन । अध्यक्ष राजेश शाक्यले आफना घरपरिवारका सदस्यहरूको नाममा कर्जा लगे पनि उनि आफैंले त्यो सबै रकम चलाएको देखिने छानबिन समितिको प्रतिवेदनमा औंल्याइएको छ । शाक्य नेकपा एमालेका जिल्ला नेतासमेत हुन् । सहकारीका व्यवस्थापक लोकबहादुर पुन लोकेश बेनीकै कुमारी सहकारीको १ अर्ब ४९ करोड रकम हिनामिनामा संलग्न भएको प्रमाणका आधारमा थुनामा छन् ।

एक वर्षअघि नै बेनी नगरपालिकाका मेयर सुरत केसीको संयोजकत्वमा भएको छानबिनमा सबै रकम हिनामिना भएको तथ्य सार्वजनिक भए पनि रकम असुली र हिनामिना गर्नेमाथि अनुसन्धान र कारबाहीसमेत सुरु भएको छैन । मेयर केसीसमेत एमालेका नेता हुन् ।

मेयरको संयोजक भएको छानबिन समितिमा उपमेयर ज्योति लामिछाने, तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी, बेनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल सदस्य थिए । सहायक प्रमुख जिल्ला अधिकारी आफैंसमेत रहेर सहकारीमा अनियमितता भएको ठहर गरेको एक वर्ष बितिसक्दा पनि रकम हिनामिनाका प्रमुख योजनाकार शाक्यमाथि अनुसन्धानसमेत अघि बढाइएको छैन ।

छानबिन समितिका संयोजक मेयर सुरत केसीले गत चैतमा आफूहरूले छानबिन गर्दा सहकारीमा अनियमितता भेटिएको बताए । 'रकम हिनामिना गरेको देखिन्छ,' केसीले भने, 'हिनामिनाको आधारमा अध्यक्षको सम्पत्ति रोक्का गरिएको छ । ऋण लगेअनुसारको धितो राखेको पनि देखिन्न,' उनले भने ।

रकम हिनामिना गर्नेमाथि किन कारबाही नगरिएको हो त भन्ने प्रश्नमा मेयर केसीले भने, 'कारबाही भनेर कसैले उजुरी गरेकै छैन । कसरी कारबाही गर्ने ?,' उनले प्रतिप्रश्न गरे ।

कस्तुरी सहकारीमा भएको आर्थिक अनियमितता बारेमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफूलाई जानकारी नभएको टेलिफोनमा बताए । 'कसैले उजुरी गरेको छैन, उनले भने, ,अब कुन ठाउँमा अनियमितता भएको छ भनेर खोज्दै हिँड्ने कुरा भएन ।'

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully