कुमारीको बचत हिनामिनामा जिसस प्रमुखसहित २५ जनालाई मुद्दा, १ अर्ब १३ करोड बिगो माग

फाल्गुन १५, २०८१

नारायण शर्मा

Case against 25 people including Jesus chief in embezzlement of Kumari's savings, demand 1 billion 130 million bego

काठमाडौँ — म्याग्दीको बेनीमै रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा डेढ अर्ब रकम हिनामिना गरेका एमाले नेता एवं जिसस प्रमुख राजकुमार थापासहित २५ जनाबाट १ अर्ब १३ करोड बिगो मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । थापासहित रकम हिनामिनामा संलग्न ६ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमै छन् ।

सहकारी रजिस्ट्रार कार्यालयमा परेको निवेदनका आधारमा १५ महिनाअघि कुमारी सहकारीमा छानबिन थालिएको थियो । सहकारी रजिस्ट्रार कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमको संयोजकत्वमा गरेको छानबिनमा थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड हिनामिना गरेको ठहर गरिएको छ ।

थापाले सहकारीको रकम आफूखुसी लगेर आफ्नो निजी बोर्डिङ स्कुलमा लगानी गरेका थिए । उनैले त्यहाँको रकम लगेर पर्वतको जलजला गाउँपालिका र कास्कीमा समेत घरजग्गा कारोबार गरेका थिए । सहकारीको रकम लैजाँदा ऋणको तमसुक गर्ने र कर्जा लिएबापत घरजग्गा रोक्कासमेत गरेका थिएनन् ।

सहकारीको रकम सोझै लगेर घरजग्गा कारोबारमा समेत लगानी गरेर बिक्री गरी मुनाफा कमाएका आधारमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउनुपर्नेमा भने सरकारी वकिलले उन्मुक्ति दिएका छन् ।

जिल्ला प्रहरीका प्रवक्ता सागर पौडेलले गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नु भनेकाले सरकारी वकिलसँग लिखित राय मागेको बताए । ‘सहकारी कार्यालयको पत्रका आधारमा राय मागेका थियौं, तर सरकारी वकिल गोविन्द उपाध्यायले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन मान्नुभएन,’ अनुसन्धान अधिकृत पौडेल भन्छन्, ‘त्यसपछि सहकारी ठगीअनुसार मुद्दा बुझाइएको हो ।’

कुमारी सहकारीमा भएको अनियमितता छानबिन गरेका सहकारी रजिस्ट्रार कार्यालय पोखराका वित्तीय विश्लेषक निर्मल गौतम कुमारीमा रकम हिनामिनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान अघि बढाउन कुनै अप्ठ्यारो नहुने बताउँछन् । ‘यस्तै प्रकृतिका अन्य सहकारीका मुद्दामा सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान भइरहेको छ, त्यहाँ किन गरिएन, यो आश्चर्यको विषय हो,’ गौतमले भने ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully