पाेखरा — सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको तर्क गरेका छन् । उनले असभ्यतातिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टीकरण दिएका छन् ।
बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा बिहीबारदेखि ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ मा उनले यस्तो बताएका हुन् । बिहीबारदेखि बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु भएको छ । फेस्टिभलको उद्घाटन सञ्चारमन्त्री गुरुङले गरेका थिए ।
उद्घाटनअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत् प्रवचन दिएका थिए । लामा इन्दिरा गान्धी ओपेन युनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।
उद्घाटनपछि पत्रकार विजय तिमिल्सिना ‘सञ्चार संवाद’ सत्रमा मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जालसम्बन्धी विधेयकलगायत विषयमा मन्त्री गुरुङसँग गफिएका थिए । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसद्मा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको भन्दै विरोध भइरहेको पृष्ठभूमिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयकको बचाउ गरेका हुन् ।
विधेयकप्रति जनताको बुझाइ फरक भएको दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत हुने लुट, हिंसा रोक्न विधेयक आवश्यक रहेको टिप्पणी गरे । ‘यही महिना मात्रै कति मान्छे लुटिए ? विश्वास दिलायो, पैसा माग्यो या केही गर्यो । आइडियाहरु लियो । त्यो चाहिँ अन्त्य गर्नुपर्छ की पर्दैन ? राज्य छ भने सरकार छ भने लुट बन्द गर्नुपर्यो । हिंसा बन्द गर्नुपर्यो । अपराध बन्द गर्नुपर्यो,’ उनले भने ।
समाजलाई हानिनोक्सानी पुर्याउने गतिविधिलाई नियमन गर्न एआई सम्बन्धी कानुन बनाउन लागिएको पनि उनले सुनाए । सरकारले ल्याएको विधेयकमा डिपफेक भिडियो बनाउनेदेखि प्रसारण गर्नेसम्मलाई कारवाही हुने व्यवस्था छ । तर, सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जाल विधेयकमा दण्ड जरिवाना मात्रै नभएको बताए । उनले सामाजिक सञ्जाल सञ्चालन गर्नेलाई डिजिटल साक्षरता अभियान चलाउने उल्लेख गरे । ‘हाम्रो त्यहाँ खाली दण्ड जरिवानाको मात्रै कुरा छैन । सामाजिक सञ्जाल सञ्चालन गर्नेलाई लिटरेसी क्याम्पेन चलाउने भनेका छौं । उनीहरुलाई सहयोग गर्ने भनेका छौं,’ उनले भने, ‘के–के चिज गर्नुहुन्छ के–के चिज गर्नुहुन्न आईटीको, सामाजिक सञ्जालको माध्यमबाट भनेर । सबै प्रयोगकर्तालाई क्याम्पेन चलाउनुपर्यो । सरकारले सामाजिक सञ्जाललाई सघाउने भनेका छौं । अभियान त्यो हुन्छ ।’
अभिव्यक्ति स्वतन्त्रताको विषयमा सर्वोच्च अदालतको निर्देशनात्मक फैसला नै काफी रहेको पनि उनले बताए । सर्वोच्चले कुनै पनि आईटीका माध्यमबाट सामाजिक सञ्जाल चलाइराख्दा व्यक्तिगत विवरणको गोपनीयता भंग गर्ने काम रोक्न भनेको उनले उल्लेख गरे ।
सामाजिक सञ्जाल प्रयोगकर्ता आफै सजग र सचेत हुनुपर्नेमा मन्त्री गुरूङले जोड दिए । सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार गर्नेलाई प्रोत्साहन गर्ने सञ्चारमन्त्री गुरूङले बताए । तर, सामाजिक सञ्जालमार्फत अरूलाई तुच्छ गाली दिन नपाइने उनको भनाइ छ । ‘तपाईं सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार बढाउनुस् न,’ उनले भने, ‘त्यसमा सरकारले प्रोत्साहन गर्छ । तपाईंको सेवालाई सूचिकृत गर्नुस् न । सरकारले प्रोत्साहन गर्छ । व्यापार बढाउनुस् न । तर, अरुलाई हेट स्पीच किन गर्नुहुन्छ । ह्याक किन गर्नुहुन्छ ? पाइन्छ त्यो । पाइँदैन ।’ सरकार सामाजिक सञ्जाल अधिकतम प्रयोग गर्नुपर्छ भन्नेमा रहेको उनले बताए । नेपाललाई आइटी हब बनाउनका लागि लगानीको वातावरण बनाउन अध्यादेश ल्याएको उनको दाबी छ ।
उद्घाटन समारोहमा उनले ६ वर्षीया बालिका भूमिलक्ष्मी पराजुलीद्वारा लिखित ‘मर्मेड ह्वेल प्रिन्सेस’ नामक चित्रकथा पुस्तक विमोचन गरे ।
