अफ्रिकाको बोत्सवानामा गाईको पछिल्तिर आँखाको चित्र बनाउँदा सिंहले आक्रमण नगरेको पाइएपछि चितवनको माडी क्षेत्रमा परीक्षण गरिँदै
चितवन — वनभित्र या नजिक चर्दै गरेका गाईभैंसीको पछिल्लो भागमा कोरिएको आँखाको चित्र र ‘क्रस’ चिह्न देख्दा बाघले के गर्ला ? यसबारे चितवनको दक्षिणी माडी क्षेत्रमा यसबारे परीक्षण सुरु भएको छ । अफ्रिकामा घरपालुवा जनावरको पछिल्लो भागमा आँखाको चित्र बनाउँदा सिंहले आक्रमण नगरेको पाइएपछि यहाँ पनि अध्ययन गर्न लागिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयका प्रतिनिधि र इंग्ल्यान्डको चेस्टर जुका प्रतिनिधि मंगलबार माडी–९ मा पर्ने कृष्णनगरस्थित बिहानी टोल पुगेका थिए । उनीहरूले स्थानीय सोमबहादुर सार्कीले पालेका भैंसीको पछाडिको दुवै फिलामा इनामेलले ‘क्रस’ चिह्नको छाप लगाए ।
माडीका वन्यजन्तु प्रभावित अन्य गाउँका गाईभैंसीमा आँखाको चित्र बनाउने योजना छ । पछिल्लो भागमा यस्ता चिह्न देख्दा बाघले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने अध्ययन गर्न खोजिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंले बताए ।
अफ्रिकाको बोत्सवानामा घरपालुवा जनावरको पछिल्लो भागमा आँखाको चित्र बनाउँदा प्रभावकारी देखिएको प्रसाईंले बताए । ‘जोर्डन भन्ने अध्ययनकर्ताले बोत्सवानामा गरेको अध्ययनले यो सिद्ध गरेको हो । सन् २०२० मा त्यहाँका घरपालुवा गाईको पछिल्लो भागमा आँखाका दुईवटा चित्र बनाउँदा सिंहले आक्रमण गरेन भन्ने छ । त्यो प्रयोग हामी यहाँ गर्न चाहन्छौं,’ उनले भने ।
बाघ, चितुवाजस्ता मांसहारी जनावरले अगाडिबाट नभई पछाडिबाट आक्रमण गर्छन् । प्रसाईंका अनुसार पछाडि चित्र बनाए त्यसलाई अघिल्लो भाग ठान्न सक्छन् । ‘बाघको धेरै आक्रमण हुने ठाउँमा स्थानीयले नै टाउको पछाडि मुखौटा लगाएको हामीले सुन्दै आएको हो । त्यसबाट आक्रमणमा कम पर्ने गरिन्छ भनिन्छ । जनावरमा कस्तो असर पर्छ, यो अध्ययनबाट देखिएला,’ उनले भने ।
माडीमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत चेस्टर जुले यस्तो अध्ययन गर्न लागेको हो । माडीसँगै सिमाना जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्ब (भीटीआर) का गाउँमा पनि यस्तै अध्ययन हुने चेस्टर जुका प्रोजेक्ट म्यानेजर दिशा शर्माले बताइन् । डार्बिन इनिसिएटिभले चेस्टर जु परियोजनाअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयमार्फत गत वर्षदेखि मानव वन्यजन्तु सहअस्तित्व कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै कार्यक्रमअन्तर्गत नेपाल र भारतमा कम्तीमा डेढ–डेढ सय गाईभैंसीमा यस्तो चिह्न बनाउन लागिएको शर्माले जानकारी दिइन् । ‘स्थानीयको चाहना र मागअनुरूप यो संख्या थपिन पनि सक्छ,’ उनले भनिन् । अध्ययनबाट आउने नतिजाका आधारमा बाघबाट पशुचौपाया जोगाउने योजना बनाउन सहयोग पुग्ने शर्माको भनाइ छ ।
सोमबहादुरको घर रहेको माडी अयोध्यापुरी क्षेत्रमा मात्रै वर्षमा २४ वटा घरपालुवा चौपाया बाघ र चितुवाको आक्रमणमा परेको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताए । सोमबहादुरले सातवटा भैंसी छन् । ‘चराउन जंगल लैजाँदा मात्रै होइन, गोठमै आएर बाघले भैंसी र बाख्रा लैजाला कि भन्ने डर हुन्छ,’ सोमबहादुरले भने, ‘बाघबाट पशुचौपाया जोगाउने उपाय जान्न पाए हामीलाई ढुक्क हुन्थ्यो ।’
