पार्टी अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ : अध्यक्ष दाहाल

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

The party will now focus on the oppressed community: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन् ।

अखिल क्रान्तिकारी कोशी प्रदेशको प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । 

पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए ।

पार्टीकै अर्को निर्णयअनुसार 'जनतासँग माओवादी तराई मधेश जागरण' थालिएको उनले बताए । आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष दाहालले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उँचो ठाउँमा लगेर समापन गरिने बताए । यो अभियानस्वरूप र सन्देश दुवै हिसाबले मौलिक हुने उल्लेख गर्दै उनले यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने बताए ।

भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको चुनावले पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्थापित गरेको उल्लेख गर्दै उनले यसले अरु विद्यार्थी संगठनभन्दा अखिल क्रान्तिकारीलाई नयाँ उचाइमा पुर्‍याइने बताए । 

कान्तिपुर

Link copied successfully