हिमाली बस्तीमै हिमपातको पर्खाइ

फाल्गुन १४, २०८१

कृष्णप्रसाद गौतम

Waiting for snowfall in the Himalayan settlement

सुर्खेत — मुगुको खत्याड गाउँपालिका–८ का गणेश गिरीले ५ वर्षअघि वर्षभरि पुग्ने अन्न फलाउँथे । झण्डै १० रोपनी जग्गामा अन्नबाली लगाउने उनी केही वर्षयता कहिले खडेरी त कहिले असिनापानीका कारण उत्पादनमा ह्रास आएपछि चिन्तित बनेका छन् ।

‘न स्याउ राम्ररी फल्छ न अरु बालीनाली नै,’ उनले भने, ‘यो वर्ष झन् फाट्टफुट्ट मात्र हिउँ पर्‍यो, बालीनाली खडेरीले सुक्न थाले, अब वर्षामा के खाने भन्ने चिन्ता छ ।’ उनका छिमेकी भूमिनन्द बुढालाई पनि केही वर्षयता परिवारको खर्च धान्न मुस्किल परेको छ ।

‘हिउँ नपर्दा डाँडापाखा नांगा छन्, पहिले बालीनालीलाई पुग्नेगरि हिउँ पर्थ्यो र वर्षभरि खान पुग्थ्यो,’ उनले भने, ‘हामीलाई त हिउँले सुबिकाल र अनिकाल ल्याउँछ, डाँडाभरि हिउँ परे जमिनमा पुग्नेगरि पानीको आँत लाग्छ, स्याउ, बालीनाली, घाॅसपात सबै सप्रिन्छ, हिमपात नभए सबैतिर उजाड, बाली नफले के खाने भन्ने चिन्ताले सताउँछ ।’

अहिले कर्णालीका हिमाली जिल्ला हिमपातको पर्खाइमा छन् । ‘हिमपात नहुँदा पाखातिरको घासपात सुक्न थाल्यो, घाँस नभए पशुवस्तु कसरी पाल्ने ?,’ डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-३ का छेवाङडोल्मु तामाङले भने, ‘बाली पनि सुक्दै गएको छ, अझै १/२ हप्ता हिउँ नपरे लगाएको जौबाली सबै सुकेर जान्छ ।’

जलवायु परिवर्तनको असरका कारण हिमपात नभएपछि अधिकांश किसान मर्कामा परेको उनले बताए । उनका अनुसार यो वर्ष पुस दोस्रो सातायता डोल्पोबुद्धमा वर्षा भएको छैन । ‘वर्षा भए हिउँ परिहाल्थ्यो, ४/५ वर्ष अघिसम्म फागुनुसम्मै हिउँ जम्थ्यो,’ उनले भने, ‘अब त हिमालमै पनि हिउँ कुर्नुपर्ने भयो ।’

उनका अनुसार यो वर्ष ४ पल्ट गाउँमा हिमपात भए पनि एक दिनभन्दा बढी टिकेन । लामो खडेरीका कारण बारीमा लगाएको गहुँ र जौं सुक्न थालेपछि खाद्यान्न अभाव हुने भन्दै किसान निराश बनेका हुन् । ‘हिउँ नपर्दा अन्नबाली उत्पादन हुनै छाड्यो,’ कालीकोटको तिलागुफा-४ का धनबहादुर बुढाले भने, ‘अन्न उत्पादन घटेपछि तराइको सेतो चामलको मुख ताक्नुपर्ने बाध्यता छ ।’

५ वर्षअघि ९ मुरी गहुँ फलाएका उनले गत वर्ष मुस्किलले ४ मुरी मात्र उत्पादन भएको बताए । उनका अनुसार हिमपात नहुॅदा गाउँको पाखोबारीमा चिनु, कागुनो र मास फल्न छोडेको छ । झण्डै १० रोपनी जग्गामा एक दशक अघिसम्म १८ मुरी मास, ३२ मुरी धान र १२ मुरी गहुँ फलाएका उनले गत वर्ष झण्डै आधाले उत्पादन घटेको बताए ।

हिमपात नहुँदा अन्न लगाए पनि रोग किराको प्रकोप देखिने स्थानीय किसान तिलागुफा-३ का कमल शाहीले बताए । ‘गाउँमा हिउँ परे र वर्षा भए सुविकाल आउँछ,’ उनले भने, ‘सधैं खडेरी परेपछि कसरी बालबच्चा पाल्ने?’

जलवायु परिवर्तनको प्रभावले हिमाली बस्तीमा हिउँ नपर्दा वर्षेनि उत्पादन घट्दै गएको कृषि विकास कार्यालय मुगुका प्रमुख गणेशबहादुर अधिकारीले बताए । ‘उर्भर भूमि वर्सेनि बाँझिदै गएको छ,’ उनले भने, ‘अन्नबाली उत्पादनबाटै आत्मनिर्भर भएका किसानलाई पनि बाहिरको खाद्यान्न किन्नुपर्ने बाध्यता छ ।’ उनले हिमपात नहुॅदा खडेरीले स्याउलगायत फलफूल र तरकारीमा पनि असर पारिरहेको बताए ।

हिमाली बस्तीमै हिउँ नपरेर गर्मी बढ्न थालेपछि तराइमा उत्पादन हुने बाली लेकतिर फल्न थालेका छन् । सबैभन्दा बढी हिउँ पर्ने मुगमकार्मारोङ गाउँपालिकाका धेरै बस्तीमा अहिले पाखेधान फल्न थालेको छ । चिसोले कोदो पनि नफल्ने बस्तीमा अहिले धान फल्न थालेको मुगमकार्मारोङ गाउँपालिका–९ का ७१ वर्षीय रनचन्द बडुवालले बताए ।

‘पहिले बाहिरको चामलले छाक टार्थ्यौ,’ उनले भने, ‘७ वर्षयता हाम्रै गाउँमा पाखे धान फल्न थालेको छ ।’ उनले समुद्र सतहदेखि करिब २८ सय ७२ मिटर उचाइको पापुगाउँका ८५ घरधुरीले नै धानबाली लगाउन थालेको बताए । उनका अनुसार कोदो, चिनो, कानुनोलगायत अन्न फल्ने भिरालो पाखोमा अहिले धान फलिरहेको हो ।

उनले गाउँमा टमाटर र काँक्रोसमेत फल्न थालेको बताए । एक दशक अघिसम्म जिल्लामा सबैभन्दा बढी हिमपात हुने मुगमकार्मारोङकै चितैगाउँमा २ वर्षयता खुर्सानी, टमाटर र भिण्डी फल्न थालेपछि स्थानीयबासी अच्चम्ममा परेका छन् । ‘तराइमा फल्ने खुर्सानी अब हाम्रै बारीमा फल्न थाल्यो,’ स्थानीइ सेरापसाङमू तामाङले भनिन्, ‘बरु कागुनो र चिनो झन माथि सर्‍यो ।’

हिउँ नपर्दा मुगुका अधिकांश गाउँमा स्याउ फल्न छोडेको छ । स्याउ नफलेपछि अन्न लगाउन छोडेका किसानले फेरि अन्नबाली लगाउन थालेका छन् । स्याउ नफलेपछि बोटहरु काटेर फाल्नुपर्ने बाध्यता भएको छायानाथरारा नगरपालिका–५ का छत्त रावलले बताए ।

‘स्याउ फल्दैन फल्दैन, पोहर एक तिहाइ मात्र स्याउ फल्यो,’ उनले भने, ’ उनले भने, ‘फलेको स्याउलाई पनि रोग–किराबाट जोगाउन मुस्किल छ ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार ५ वर्षअघि मुगुमा ३८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गत वर्ष २१ मेट्रिक टन मात्र स्याउ फलेको कार्यालयले जनाएको छ ।

हिमपात नहुँदा पानीका मुहान पनि सुक्न थालेको मुगुको भामबाडाकी पार्वती भामले बताइन् । उनका अनुसार पानीका मुहान सुकेपछि गाउँहरुमा खानेपानी अभाव चुलिएको छ । एक दशकअघि राराताल वरिपरि झण्डै ३ सय पानीका मुहान थिए । अहिले करिब आधा मुहान खडेरीले सुकेको मुर्मागाउँका बिर्ख रोकायाले बताए । ‘पानीका मुहान सुक्दै गएपछि बस्तीहरु खोलाको छेउछाउमा सर्न थालेका छन्,’ उनले भने, ‘पानीकै अभाव भएपछि जमिन पनि बाँझिदै गएका छन् ।’

सोरु गाउँपालिकाको सोरुकोट आसपासमा पनि करिब २ दर्जन मुहान सुकेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ‘मुहान सुकेपछि अधिकांश गाउँबाट खानेपानीकै योजना माग हुन थालेका छन्,’ उनले भने, ‘केही गाउँमा खडेरीले पानीको हाहाकार मच्चिएको छ ।’

उनका अनुसार पुस दोस्रो सातादेखि हिमपात नहुँदा किसानले कात्तिक महिनामा छरेको गहुँ र जौं बाली सुक्न थालेको छ । गाउँपालिका अध्यक्ष शाहीका अनुसार २०७२ सालमा पनि यो वर्षजस्तै ठूलो खडेरी परेको थियो । खडेरी परेपछि अधिकांश युवा मजदुरीका लागि भारत गएको उनले जानकारी दिए ।

‘हिउँ नपर्दा गाउँमा सुबिकाल आएन,’ सोरु गाउँपालिका–७ का टेक विष्टले भने, ‘यो वर्ष त गाउँमा हिउँ नै नपरेपछि सबै बाली सुक्न थाल्यो ।’ यो वर्ष जुम्लामा ३ पल्ट हिउँ परे पनि एक दिन नटिकेको कनकासुन्दरी गाउँपालिकास्थित कृषि शाखाका प्राविधिक सहायक नन्दबहादुर खत्रीले बताए । उनका अनुसार पालिकामा ५/७ वर्षअघिसम्म लगातार ३/४ दिनसम्म लगातार हिउँ पर्थ्यो भने एकपल्ट परेको हिउँ कम्तीमा एक सातासम्म टिक्थ्यो ।

‘अहिले त न हिउँ पर्छ न परेको २/४ दिन टिक्छ, हिउँ जमिरहे जमिनको तलसम्म पुग्छ र केही समय जमिन चिसो भइरहन्छ,’ उनले भने, ‘हिउँ नपर्दा सबैभन्दा ठूलो असर स्याउमा परेको छ, यहाँका किसानले हिउँदको सिजनमा कात्तिकदेखि फागुनसम्म स्याउका बिरुवा काटछाट र मलखादको व्यवस्थापन गर्छन्, हिउँ परेका बेला जति राम्ररी स्याउका बिरुवा काटछाट गर्‍यो त्यति नै स्याउ फल्ने हो, यसपालि त न हिउँ पर्‍यो न किसानले बिरुवा गोडमेल गर्न पाए ।’ हिउँ नपरेपछि सिमी, गहुँ, जौंलगायतको उत्पादन घट्ने जोखिम रहेको उनको भनाइ छ ।

जुम्लामा अहिले झण्डै ३ हजार हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । ‘सबै क्षेत्रमा सिँचाइको पहुँच छैन,’ गुठिचौर गाउँपालिकास्थित कृषि शाखा प्रमुख ध्रुवराज गिरीले भने, ‘हिमपात नभएपछि कसरी स्याउमा सिँचाइ गर्ने भन्ने किसानको चिन्ता छ ।’ उनका अनुसार गत वर्ष सिँचाइकै अभावमा स्याउको उत्पादन झण्डै आधा घटेको थियो । समयमै हिमपात र वर्षा नहुँदा यो वर्ष पनि स्याउको उत्पादन घट्ने गिरीले बताए । ‘अहिले स्याउका बिरुवा काटछाट गर्ने, वोडोपेष्ट गर्ने, नयाँ बिरुवा रोप्ने समय हो,’ उनले भने, ‘हिउँ नपर्दा सबै काम रोकिए ।’

स्याउका बिरुवा काटछाट गरे पनि हिउँ नपर्दा समस्या भएको चन्दननाथ–१० का किसान नारायण भट्टराईले बताए । ‘काटछाट गरेपछि बिरुवामा सिँचाइ चाहिने हो,’ उनले भने, ‘हिउँ नपरेपछि वैकल्पिक व्यवस्था गर्न सकिएको छैन ।’ उनले अधिकांश हिउँदेबाली पनि खडेरीले सुक्न थालेको बताए । जुम्लामा करिब १६ हजार घरधुरी स्याउखेतीबाट आत्मनिर्भर छन् । हिउँ नपर्दा जीविकोपार्जनको चिन्ताले सताएको हुम्लाको सिमकोट गाउॅपालिका-७ का हरिबहादुर रोकायाले बताए ।

‘हिउँले हामीलाई सबैथोक दिएको छ, हिउँ परे वातावरण सफा हुन्छ, पानीका मुहानहरु सुक्दैनन्, बारीकै अन्नको उत्पादनले खान पुग्छ, तर यो वर्ष हिउँ नपर्दा यहाँ बसेर परिवार पाल्न समस्या भयो,’ उनले भने, ‘अब त भारत जानुको विकल्पै छैन ।’ उनका अनुसार गत वर्षसम्म बारीको अन्नले उनको परिवारमा झण्डै ७ महिनाको खाद्यान्नको जोहो हुन्थ्यो । हुम्लामा ४ पल्ट हिमपात भए पनि हिउँ परेको १/२ दिनमै बिलाएको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकाका अधिकांश गाउँमा सिँचाइ सुविधा छैन ।

विगत वर्षमा यही समय आलु रोप्ने किसानले खडेरीका कारण यो वर्ष आलु पनि नलगाएको उनले जानकारी दिए । सिमकोट-१ का जुनबहादुर रोकायाले हिउँ र पानी नपरेसम्म गतिलो स्याउ नफल्ने बताए । ‘खडेरी बढेपछि स्याउका बोट सुक्छन् की भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भने, ‘यसपालि अहिलेसम्म राम्ररी हिउँ परेन, अब पनि पर्ने संकेत छैन ।’ उनका अनुसार खडेरीले वनपाखाका रुख–बिरुवासमेत सुक्न थालेका छन् ।

वातावरणविज्ञ लक्ष्मण शर्मा जलवायु परिवर्तनको असर र तापक्रममा आएको परिवर्तनका कारण यो वर्ष हिमाली क्षेत्रमा हिमपात कम भएको बताउँछन् । उनले अहिले कर्णाली र आसपासका क्षेत्रका काञ्जिरवा, सिस्नेलगायतका हिमालहरु पनि हिउँविहीन भएको बताए । उनका अनुसार ३ वर्षदेखि हिउँदमा औसतभन्दा निकै कम वर्षा भएकाले यस्तो भएको बताए ।

‘पानी नपरेपछि हिमाली क्षेत्रको तामक्रम बढ्छ र भएको हिउँ पग्लन्छ भने नयाँ हिउँ पर्ने प्रणालीको विकास पनि हुन सक्दैन,’ उनले भने । कर्णाली प्रदेशमो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा २ लाख ९९ हजार ३ सय ३९ हेक्टर खेतीगोग्य जमिनमा ३ लाख ३९ हजार ९ सय मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार त्यसमध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ । ‘लामो खडेरीले यस वर्ष अन्न र फलफूल उत्पादनमा ठूलो असर पार्ने देखियो,’ उनले भने, ‘किसानहरु हिमालमा हिउँ र पहाडमा वर्षाको पर्खाइमा छन् ।’ उनले खडेरीका कारण कर्णालीमा यो वर्ष करिब २० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको बताए ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully