समाजवादी गणतन्त्रसम्म पुग्ने लक्ष्य प्राप्तिका लागि आगामी दिनमा माओवादी पार्टी सँगै रहेर अघि बढ्ने पुनको भनाइ
गोरखा — पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । बारपाक सुलिकोट गाउँपालिका–८ जराङमा जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको २९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनलाई बदनामका लागि आक्रमणको कोसिस भइरहेको बताए ।
‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, चिहानमा पुगेको सिनोहरु फेरि जाग्ने, जुर्मुराउने र प्राण भर्ने कोसिस गर्दै छन्,’ उनले भने,‘प्रजातन्त्र दिवसमा आएका वक्तव्य हेरिरहनुभएको छ, पढिराख्नुभएको छ ।’
प्रतिमागी सोच चिन्तन भएका गणतन्त्र मन नपराउने ठूला दल भित्रका प्रतिगामी सोच, प्रवृत्ति भएका तप्काले माओवादी आन्दोलनलाई कसरी बदनाम गर्न सकिन्छ भनेर आक्रमण गर्ने कोसिस गरेको उनले बताए । ‘चिन्ता लाग्छ, गणतन्त्रलाई कसरी हत्या गर्न सकिन्छ, समानुपातिक, समावेशी कसरी खोस्न सकिन्छ भन्ने प्रवृत्ति हाबी हुँदै गएको छ,’ उनले भने,‘गणतन्त्रमाथि आक्रमण गर्ने थुप्रै शक्ति जुर्मुराउन थालेका छन्, ती सबै दिवा सपना हो । खबरदार, त्यो कोसिस नगरियोस्, नेपाली जनसुमदाय प्रतिगमनको पछि लाग्न चाहँदैनन्, समाजवादमा पुग्न चाहन्छन्, संविधानले निर्दृष्ट गरेको बाटोमा अघि बढ्न चाहन्छन् ।’ लोकतान्त्रिक गणतन्त्रमार्फत अन्तिम लक्ष्य नभएको भन्दै पुनले समाजवादी लक्ष्यमा पुग्न ठूलो आँधीबेहरी, तुफानसँग जुध्नुपर्ने उनले बताए ।
समाजवादी गणतन्त्रसम्म पुग्ने लक्ष्य प्राप्तिका लागि आगामी दिनमा माओवादी पार्टी सँगै रहेर अघि बढ्ने पनि पुनले बताए । पुनले सहिद र बेपत्ता योद्धाको सपना अझै पूरा नभएको बताए । ‘विरोधी शक्तिहरु त्यहाँ गएर के बोल्यो भनेर कान ठाडो पारिरहेका छन्,’ उनले भने,‘खुसी लागेको छ, आजबाट सुरु भएको सहिद सप्ताहको दुई/तीन वटा कार्यक्रममा अझै जान्छु, किनकि मेरो लक्ष्य पूरा भएको छैन, समाजवादी गणतन्त्रसम्म पुग्ने सहिदरुको सपना पूरा भएको छैन, लक्ष्य पूरा गर्न आगामी दिनमा तपाईंहरु सँगै रहन्छु, नेकपा माओवादी पार्टी सँगै रहँदै अघि बढ्ने प्रतिबद्धता गरेको छु ।’
माओवादी पार्टी जनताको घरदैलोमा पुगेर विगतमा भएको कमीकमजोरी सर्लक्कै राख्नुपर्ने उनले बताए । ‘यहाँ/यहाँ गल्ती भयो माफी दिनुस्, लक्ष्यबाट विचलित भएको छैन, श्रेष्ठता, विचराको आधारमा प्रतिस्पर्धा गर्छौं साथ दिनु भनेर माफी मागौं,’ उनले भने,‘२०८४ सम्म शक्तिशाली बनाउने, सदनमा पनि बलियो उपस्थिति गराउने । २०६४ मा जुन/जुन मतदाताले भोट दिनुभयो, फेरि एक पटक दिनुस् भनेर जानुपर्छ ।’
गणतन्त्रको संस्थागत विकास र समाजवादमा पुग्न भोट दोहोर्याउन आग्रह सहितको अभियान लिएर जनताको घरदैलोमा जानुपर्ने उनले बताए ।
