साना दलभित्र चुलिएको शक्ति संघर्ष

एकीकृत समाजवादीमा मात्र होइन, मधेशकेन्द्रित र साना वामपन्थी दलमा पनि अन्तरसंघर्ष चुलिँदै, मिल्ने न फुट्ने अवस्था

फाल्गुन १३, २०८१

गंगा बीसी

Power struggle within small parties

काठमाडौँ — नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पार्टी गठन भएदेखि नै हार्दिक सम्बन्ध हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई अस्वीकार गर्दै नयाँ दल गठन गरेका नेपाल र खनाल गत शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा एकमत हुन सकेनन् ।

पूर्वप्रधानमन्त्री समेत भइसकेका दुई नेताबीच ‘मिल्ने न फुट्ने’ स्थितिको शक्ति संघर्ष चलिरहेको छ । केन्द्रीय कमिटीले विवाद समाधान गर्ने समझदारी गरे पनि सोमबार नेपाल र खनाल पक्षका विद्यार्थीको अलग-अलग भेला गरे । पार्टी केन्द्रीय कमिटीमा यसअघि अनेरास्ववियु अध्यक्ष रहेकी आरती लामाले आफूलाई जानकारी नै नदिई जिम्मेवारीबाट हटाएको भन्दै आपत्ति जनाएकी थिइन् ।

गत असारमा भएको पार्टीको महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन र विधान फरक पारी प्रकाशन गरेको भन्दै खनालले बैठकमा आपत्ति जनाएका थिए । नेपाल पक्षले भने खनाल आफैं सहमत भएका विषय पनि बाहिर गएर फरक ढंगले प्रस्तुत भएको जनाएको छ ।

‘पार्टी विधान महाधिवशेनको भावनाअनुरुप छैन । प्रतिवेदन पनि सुझाव समेटिएको छैन । यो मान्न सकिने स्थिति छैन । विधान र प्रतिवेदन सच्चियो भने मान्न सकिन्छ, भएन भने मान्न सकिँदैन,’ खनालले भने ।

उनले आफूले ‘वैज्ञानिक समाजवादको बाटोमा अघि जाने’ विषय समेट्न सहमति भए पनि त्यो नसमेटिएको बताए । विद्यार्थी र युवा संघका अध्यक्ष हटाएको विषयले असन्तुष्टि जनाएको उनको भनाइ छ ।

‘विद्यार्थी र युवा संगठनमा विवाद छ । जनसंगठनका नेतालाई प्रक्रिया परा नगरी जिम्मेवारीबाट निस्कासन गरेपछि असन्तुष्ट भएका छन्,’ उनले भने, ‘समस्या समाधान नगरी अघि बढाउन गाह्रो छ ।’ विद्यार्थी संगठनको अध्यक्षबाट आरती लामा र युवा संघ अध्यक्ष कृष्ण बीसीलाई हटाएर केन्द्रीय कमिटीमा मनोनीत गरिएको थियो ।

उपाध्यक्ष बेदुराम भुसालले खनालले उठाएका विषय सुझाव र गुनासोका रुपमा आएको बताए । ‘सम्मानित नेताले पार्टीमा उत्साह जगाउने काम गर्नुपर्छ,’ उनले भने, ‘जेएन (झलनाथ) ले उठाएका विषय सचिवालय बैठक गरी सम्बोधन गर्ने निर्णय भएको छ ।’ उनले महाधिवेशनभन्दा बाहिर गएर राजनीतिक दस्तावेज र विधान प्रकाशित गरेको भन्ने गलत भएको दाबी गरे ।

‘महाधिवेशनले पारित गरेभन्दा बाहिर गएर दस्तावेज र विधान आएको छैन,’ उनले भने, ‘केही समस्या भए सचिवालयले समाधान गर्ने निर्णय भएको छ ।’

खनालले यही तरिकाले पार्टी निर्माण र संघर्ष हुन नसक्ने दाबी गरे । ‘जनआन्दोलन विकास गर्ने हो भने पार्टी कार्यदिशा, नीति, सिद्धान्तको विकास गर्नुपर्छ । त्यो चेतना तयार पार्नुपर्छ,’ उनले भने, ‘पार्टी र जनसंगठनलाई एकताबद्ध बनाउनुपर्छ । पार्टीले महाधिवशेनले पारित भएका दस्तावेजमाथि समस्या देखा परेका छन् । समाधान गर्नुपर्छ ।’ उनले दस्तावेज प्रकाशन गर्दा समस्या देखा परेको उल्लेख गर्दै समाधानका लागि केन्द्रीय कमिटीमा फरक मत राखेको जानकारी दिए ।

एक पदाधिकारीकाअनुसार महाधिवेशनले विधान संशोधन गरी खनालकै लागि सम्मानित नेताको पद सिर्जना गरे पनि उनले सम्मानित शैली प्रस्तुत नगरेको प्रति अध्यक्ष नेपाल असन्तुष्ट छन् । ‘अध्यक्ष माधव नेपाल झलनाथ खनाललाई पेलेर न पेलेर जान सक्नुहुन्छ, न उहाँका कुरा सम्बोधन गर्नुहुन्छ,’ ती पदाधिकारीले भने, ‘माधव नेपालले खनालका कुरा एक कानले सुनेर अर्को कानले उडाइदिनुहुन्छ ।’

२०६५ फागुनमा भएको एमालेको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध नेपाल र खनाल एक ठाउँमा थिए । २०७५ जेठमा एमाले र माओवादी एकता भई बनेको नेकपामा पनि दुई नेता मिलेका थिए । नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीविरुद्ध नेपाल र खनाल लागेका थिए । २०७८ भदौमा एमाले विभाजन गरेपछि नेकपा एकीकृत समाजवादी गठन गरेका नेपाल र खनालबीच पछिल्लो समय चिसो सम्बन्ध छ ।

प्रतिनिधिसभामा १० सिट भएको एकीकृत समाजवादीले एमालेबाट अलग हुनुका औचित्य पुष्टि गर्ने भन्दै पार्टी निर्माणमा लाग्ने निर्णय गरेको छ । तर एमालेभन्दा फरक र नौलो कार्यनीति र कार्यक्रम नल्याएपछि नेता तथा कार्यकर्तामा आकर्षणभन्दा विकर्षण बढी देखिन्छ । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायत सांसद असन्तुष्ट छन् ।

मधेशकेन्द्रित दल पनि चिराचिरा

नेकपा एकीकृत समाजवादीमा मात्र होइन, अन्य साना पार्टीहरुमा पनि त्यति नै चर्को शक्ति संघर्ष छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार भएका बेला गत वर्ष जनता समाजवादी पार्टी नेपाल विभाजन भयो । सरकारमा भएकै बेला २०८१ वैशाख १३ जसपा विभाजन भएर दुई पार्टी बने । जसपा नेपालको अध्यक्ष उपेन्द्र यादव भएकै बेला उपाध्यक्ष अशोक राईले अर्को जसपा नामक पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरे । प्रतिनिधि सभामा जसपाका १२ सांसदमध्ये नयाँ जसपामा ७ सांसद सहभागी भए भने यादवको पक्षमा ५ सांसद लागे ।

दुवै पार्टीले सरकारलाई समर्थन गरेका छन् । तर राईको नेतृत्वको जसपाका प्रदीप यादव खानेपानी र नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी पनि २०८१ असोजमा विभाजन भयो । पूर्वमन्त्रीसमेत रहेका नेता राजेन्द्र महतो लोसपा विभाजन गरी राष्ट्रिय मुक्ति पार्टीको गठन गरी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

२०७९ असारमा शक्ति संघर्षका कारण जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई अलग भए । यादवले एकलौटी पार्टी चलाएको भन्दै उनले नेपाल समाजवादी पार्टी गठन गरे । केही महिनाअघि उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नाम राखी निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

भट्टराईले माओवादीसँग गठबन्धन गरी उसकै चुनाव चिह्नमा उम्मेदवार उठाए । दुई संघ र दुई सिट प्रदेश सदस्य निर्वाचित पनि भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच कुरा मिल्न नसक्दा एकता टर्दै गयो । बरु नेसपाका राष्ट्रिय परिषद् अध्यक्ष एवं महिन्द्र राय यादवले अर्को नेसपा गठन गरी माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्‍यो ।

संघमा सर्लाही–२ बाट महिन्द्र राय यादव, बागमती प्रदेशमा सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणीन्द्र देवकोटा निर्वाचित भएका थिए । संघको समानुपातिकमा उमरावती देवी निर्वाचित भएकी थिइन् । हाल  देवकोटा भने भट्टराईको नेसपा (नयाँ शक्ति) तिर छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्री छन् ।

२०८० चैतमा बाबुारम भट्टराईको पार्टी फुटेर महिन्द्र राय यादव अलग भए । माओवादीबाट अलग भएको चार वर्षपछि २०७६ वैशाखमा भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी पार्टीबीच एकता भई नेपाल समाजवादी पार्टी नाम राख्यो ।

२०७७ वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) ले जनता समाजजादी पार्टी (जसपा) सँग एकता गरी नाम जसपा राखियो । एक वर्षपछि २०७८ जेठमा जसपा विभाजन भयो । भट्टराई र यादवले जसपालाई निरन्तरता दिए भने महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले पुनः लोसपा ब्युँताएका थिए । भट्टराई र यादवबीचको सहकार्य पनि लामो समय टिकेन । २०७९ असारमा जसपा पनि विभाजन भयो ।

२०७७ वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जसपा नेपाल बनेको थियो ।

साना वामपन्थी पार्टीमा पनि उस्तै रोग

२०६९ असारमा माओवादीबाट अलग भई मोहन वैद्यले क्रान्तिकारी माओवादी गठन गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति प्रक्रिया सेना समायोजनमा सम्झौता गरेको भन्दै क्रान्तिकारी माओवादी गठन गरेका थिए ।

जनविद्रोहको नीति लिँदै अर्को माओवादी गठन गरे पनि त्यो पार्टीमा पनि संघर्ष सुरु भयो । अध्यक्ष वैद्य र नेता नेत्रविक्रम चन्दबीच अन्तरसंघर्ष चर्कियो । त्यसपछि २०७१ मंसिरमा वैद्य र चन्द अलग भए । चन्दले एकीकृत क्रान्ति गर्ने भन्दै नयाँ पार्टी गठन गरेका थिए ।

वैद्यसँगबाट माओवादी केन्द्र हुँदै एमालेमा पुगेका उपाध्यक्ष रहेका रामबहादुर थापा, माओवादी, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ पनि वैद्यसँग असहमति जनाउँदै २०७३ जेठमा अलग भए । त्यसको केही समयपछि माओवादीसँग एकता गरे ।

एमाले र माओवादीबीच २०७५ जेठमा एकता भएर नेकपा गठन भयो । त्यसको तीन वर्षपछि सर्वोच्च अदालतले एक मुद्दाको फैसला गर्दै एमाले र माओवादी अलग हुने फैसला गरेपछि थापा एमालेमै रहे भने भुसाल र गुरुङ माओवादीतिरै लागे ।

वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीमा रहेका धमेन्द्र बास्तोलाबीच पनि ‘पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी हुने कि नहुने’ भन्ने विवाद भएपछि २०८१ साउनमा अलग भए ।

एकीकृत क्रान्ति भन्दै सशस्त्र गतिविधि गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द र हेमन्त प्रकाश ओलीबीच पनि अन्तरसंघर्ष चर्कियो । २०७९ वैशाखमा ओली नेकपाबाट अलग भए । नेकपा बहुमत गठन गरेका उनी हाल वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीसँग एकता गरेका छन् ।

पृथ्वीनारायण क्याम्पस पोखराका राजनीतिशास्त्रका प्राध्यापक ठानबहादुर क्षेत्रीले राजनीतिक दलका वरिष्ठ नेताबीच शक्ति र पदका कारण अन्तरसंघर्ष र विभाजन हुने गरेको बताए । ‘दलहरुमा वैचारिक बहसभन्दा शक्ति र पदका लागि संघर्ष भएको देखिन्छ,’ उनले भने, ‘प्रमुख नेताले पार्टीलाई संस्थागत गर्ने, बलियो बनाउने उद्देश्य राखेको भए बहस भए पनि विभाजनको स्तरसम्म पुग्ने थिएन ।’

गंगा

Link copied successfully