राष्ट्रसंघको 'रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग'मा सांसद गौतम सहभागी हुने

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

MP Gautam will participate in UN's 'Regional Youth Parliament in Climate Action Dialogue'

काठमाडौँ — संयुक्त राष्ट्रको क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा नेपालबाट सांसद सोबिता गौतम सहभागी हुने भएकी छन् । थाइल्यान्डमा फेब्रुअरी २६, २७ र २८ मा आयोजना हुने सम्मेलनमा सहभागी हुन रास्वपा सांसद गौतम मंगलबार थाइल्यान्ड गएकी छन् ।

बैंककस्थित राष्ट्रसंघको क्षेत्रीय कन्फरेन्स हलमा तीन दिनसम्म 'रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग' हुन लागेको हो । यो कार्यक्रममा नेपालबाट महिला विरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्य वन्दना राणासँगै विभिन्न क्षेत्रका युवा प्रतिनिधि पनि सहभागी छन् । 

सम्मेलनमा बुधबार मलेसिया र इन्डोनेसियाका प्रतिनिधिसहित जलवायु परिवर्तन, जलवायु नीतिका सन्दर्भमा नेपालका तर्फबाट बोल्ने कार्यक्रम रहेको गौतमले जानकारी दिइन् । 'एसियाको जलवायुको समस्या र मामिला सबैतिर उस्तै छ । हामीले यसअघि भर्चुअल माध्यमबाट आ-आफ्नो देशले जलवायु परिवर्तनका समब्न्धमा के कस्ता कार्यहरू गरिरहेका छन् भनेर छलफल गरिरहेका थियौं,' उनले भनिन्, 'यसपटक बैंककमा भौतिक रूपमा नै जलवायु परिवर्तनको असर, रोकथामका लागि भइरहेको प्रयास र नवीन उपायहरू आदानप्रदान गर्नका लागि कार्यक्रम हुँदैछ ।' यो कार्यक्रमले जलवायु परिवर्तनका सम्बन्धमा सबै देशका प्रतिनिधिको सामूहिक प्रयास थप मजबुत हुने उनको भनाइ छ । 

कार्यक्रममा चीन, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, श्रीलंका, सिंगापुर, नेपाल, हङकङ, भारत, भुटानलगायत १२ देशका युवा प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रमको आयोजक राष्ट्रसंघअन्तर्गतका युएन ओमन, युएनडीपी, युनिसेफ, क्लाइमेट पार्लियामेन्टलगायतले संयुक्तरूपमा गरेका छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully