काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको राजनीतिले पार्टीलाई घाटा भएको बताएका छन् । 'जनतासँग माओवादी तराई मधेश जागरण अभियान'अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्याउने बताएका हुन् ।
गठबन्धन गर्दा कांग्रेस र एमालेलाई नै फाइदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्ती नगर्ने बताएका हुन् ।
त्यस्तै उनले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको समेत दाबी गरे । पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको पुष्टि भएको भन्ने उनको भनाइ छ ।
पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको अध्यक्ष दाहालले बताए । २०६४ सालमा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफैं सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अवस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको उनको भनाइ छ ।
