काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू तीन वर्ष प्रधानमन्त्री भएका बेला असाधारण परिवर्तन भएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा बताउँदै भने, 'त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको हो ।'
उनले विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउन दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु परेको तर्क पनि गरे । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएको बताउँदै उनले भने, 'केही भएको छ, अझै धेरै गर्न बाँकी छ ।'
प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिले गरेका उपलब्धिहरु सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्ने बताउँदै २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि रहेको बताए । उनले आफूहरुले नेपाली बालबालिकाहरु मुस्कुराएको आफूहरले हेर्न चाहेको पनि बताए ।
