प्रदेश अस्पतालबाट बिरामीलाई निजीमा पठाउने चिकित्सकलाई स्पष्टीकरण

फाल्गुन १३, २०८१

शिव पुरी

Clarification to doctors who refer patients from state hospitals to private ones

रौतहट — प्रादेशिक अस्पताल आएका बिरामीलाई निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु भएको घटनामा तीन चिकित्सकलाई अस्पताल प्रशासनले स्पष्टीकरण सोधेको छ ।

प्रादेशिक अस्पताल गौरमा आएका बिरामीलाई उपकरणको अभाव भन्दै निजीमा पठाउने तीन जना चिकित्सकलाई अस्पताल प्रशासनले आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

शनिबार दिउँसो प्रादेशिक अस्पताल आएका बिरामीलाई निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु भएको थियो । घटनापछि चिकित्सकको लापरबाही भन्दै कारबाहीको माग राखेर पीडित परिवारले प्रहरी प्रशासन गुहारेका छन् । चिकित्सकलाई कारबाहीको माग राख्दै स्थानीयले सामाजिक सञ्जाल फेसबुकमा लेखेर दबाब दिइरहेका छन् । घटनाको निष्पक्ष छानबिनका लागि पीडित परिवारले स्थानीय प्रशासनलाई दबाब दिएका छन् ।

प्रादेशिक अस्पताल गौरका चिकित्सक डा. पंकज साह, फिरोज अन्जुम र घनश्याम ठाकुरलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । घटनापछि तीनै जना चिकित्सक सम्पर्कविहीन छन् । गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको शल्यक्रिया गर्दा मृत्यु भए पछि चिकित्सकको लापरबाही भन्दै पीडितका आफन्तले छानबिनको माग अघि सारे पछि अस्पताल प्रशासनले स्पष्टीकरण सोधेको हो ।

शनिबार दिउँसो पेट दुखेपछि अधिकारीलाई प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । त्यहाँ केही परीक्षण गराएर अस्पतालका मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले बिरामीको आन्द्रा फुटेको बताएका थिए ।

मृतकका काका देवेन्द्र अधिकारीका अनुसार डा. ठाकुरले अस्पतालमा उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै अर्का डा. पङ्कज साहसँग सम्पर्क गर्न लगाए । डा. साहले बिरामीलाई त्यहीँको निजी गौर सेन्टर अस्पताल लैजान भनेको पीडितका भनाई छ ।

सरकारीबाट निजीमा लगेर चिकित्सक साह आफैं शल्यक्रिया गर्न पुगेको मृतकका आफन्तले बताए । शल्यक्रिया गरे पछि बिरामीको अवस्था नाजुक बन्दै गएको थियो । त्यसपछि बिरामीलाई राति नै नेसनल मेडिकल कलेज वीरगन्ज लगेको थियो । मेडिकल कलेजमा पुर्‍याउँदा चिकित्सकले बिरामी मृत्यु भइसकेको जानकारी गराएको थियो ।

अधिकारीको मृत्युपछि प्रादेशिक अस्पताल र गौर सेन्टर अस्पतालका चिकित्सकलाई कारबाहीको माग राखेर पीडित परिवारले प्रशासन गुहारेका हुन् । वीरगन्जबाट शव ल्याएर पीडितले घटनाको निष्पक्ष छानबिन र लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाहीको माग राखेर जिल्ला प्रहरी गौरमा अनुरोध गरेका छन् । मृतकका काका देवेन्द्रले भने,‘राम्रो अस्पतालमा पठाउनुपर्नेमा फाइदाका लागि निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु हुनु सामान्य होइन । यो हत्या गरे जस्तै हो । गौर प्रादेशिक अस्पतालबाट किन निजीमा रिफर गरियो ? लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्छ ।’

उनले शल्यक्रियामा संलग्न चिकित्सक डा. फिरोज अन्जुम, पङ्कज साह र प्रादेशिक अस्पतालका डा. घनश्याम ठाकुरविरुद्ध अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरीलाई निवेदन दिएको बताए । प्रादेशिक अस्पतालबाट बिरामीलाई निजीमा लगे पछि चिकित्सक डा. साह त्यहाँ पुगेका थिए ।

उनले तत्कालै पेटको ठूलो हिस्सा चिरेर सिलाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । चिकित्सक साह गौर सेन्टर अस्पतालमा समेत कार्यरत थिए । त्यहीँ कारण उनले बिरामीलाई वीरगन्ज रिफर गर्न छाडेर पैसाको लोभमा आफ्नोमा लगेर बिरामीको ज्यान लिने काम गरेको आरोप लगाएको छ ।

प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले आन्द्राको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई वीरगन्ज रिफर गर्नुपर्नेमा गौरकै निजी अस्पतालमा कसरी पठाइयो भन्ने विषयमा अस्पतालका चिकित्सक पङ्कज साह, फिरोज अन्जुम र घनश्याम ठाकुरसित स्पष्टीकरण सोधिएको जानकारी दिए ।

‘हामी कहाँ बिरामी लट्ठ्याउने मेसिन भएर पनि एमडी चिकित्सकको अभावले जटिल शल्यक्रियाका बिरामीहरूलाई वीरगन्ज रेफर गर्न बाध्य हुँदै आएका छौँ,’ उनले भने,‘प्रादेशिक अस्पतालबाट निजीमा कसले बिरामी पठायो भन्ने अनुसन्धानकै विषय हो । यसमा हामीले अस्पतालका चिकित्सकसित २४ घण्टे लिखित जवाफ मागेका छौँ ।’

अस्पतालमा बिरामी लट्ठ्याउने जिए मेसिन चलाउने एमडी उज्ज्वल ठाकुरको एक महिनाअघि सरुवा भए पछि प्रादेशिक अस्पतालमा कोही आएको छैन । यही कारण जटिल बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता आएको मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले बताए ।

सरकारीमा उपकरण वा अन्य समस्या छ भने सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्नेमा कतै न कतै चिकित्सक साथीहरू चुकेको प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हास्मीले बताए । ‘यस्तो अप्रिय घटना देखेर हामीलाई पनि चित्त बुझेको छैन,’ उनले भने,‘सुरुमा बिरामी हेर्ने र निजी अस्पतालमा रिफर गर्ने चिकित्सकहरूलाई स्पष्टीकरण सोधिसकेका छौँ । उहाँहरू तीनै जना सम्पर्कविहीन हुनुहुन्छ ।’

बिरामीको मृत्युपछि स्पष्टीकरण सोधिएका तीनै जना चिकित्सक सम्पर्कविहीन भए पछि अस्पतालले स्पष्टीकरण पत्र सम्बन्धित चिकित्सकको कोठामा बस्ने कर्मचारीलाई दिएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully