भारतीय नागरिक निवेदिकाले पर्साबाट नेपाली नागरिकता लिएर बैंक तथा वित्तीय संस्थामा खाता खोली आर्थिक कारोबार गरेको देखिएको छ ।
काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा बसेर सुनलगायतका विभिन्न मालवस्तुको कारोबार गरी अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भारतीय बाबुछोरीविरुद्ध करिब ५४ करोड सम्पत्ति जफत गरी जेल सजाएको मागसहित उच्च अदालत जनकपुर र अस्थायी उच्च अदालत वीरगन्जमा सोमबार मुद्दा दायर गरेको छ ।
यसअघि राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हा बस्ने वीरगन्जस्थित घरबाट २५ किलो सुन बरामद गरेको थियो । सुन बरामद भए पनि उनीहरु भने त्यतिबेलादेखि नै फरार रहेका छन् ।
अशोक कुमारकी छोरी निवेदिकाले पर्साबाट नेपाली नागरिकता बनाएर विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोली कारोबार गरेको देखिएको छ । अशोककुमारबाट ३४ करोड २४ लाख ३१ हजार ४ सय ८० तथा निवेदिकाबाट १९ करोड ७३ लाख ९९ हजार ९ सय ६४ बराबरको सम्पत्ति जफत गर्नुपर्ने मागसहितको मुद्दा दर्ता गरिएको हो ।
उनीहरुलाई बिगो अनुसारको जेल सजाएसमेत माग गरिएको छ । शुद्धीकरण विभागले जारी गरेको विज्ञप्ति अनुसार बाबुछोरीबाट ५३ करोड ९८ लाख ३१ हजार ४ सय ४४ रुपैयाँ बराबरको चलअचल सम्पत्ति जफत गर्नुपर्ने माग गरिएको छ ।
राजस्वले सुनको मुद्दा चलाएको छ भने उनीहरुको सम्पत्तिको स्रोत पत्ता लगाएर कारबाही गर्न शुद्धीकरण विभागलाई अनुरोध गरेको थियो । शुद्धीकरण विभागका महानिर्देशक सुमन दाहालका अनुसार भारतीय नागरिक अशोक कुमार र उनकी छोरी निवेदिकाले अवैध रुपमा सुनलगायतका मालवस्तुको कारोबार गरी आर्जन गरेको सम्पत्तिको वैधानिक स्रोत नदेखिए पनि सम्पत्ति शुद्धीकरण गरिएको देखिएकाले मुद्दा दायर गरिएको हो ।
दाहालका अनुसार निवेदिकाले बनाएको नेपाली नागरिकता रद्द गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकिएको छ । निवेदिकाले नेपाली नागरिकताको आधारमा बैंक तथा वित्तीय संस्थामा खाता खोलेकी थिइन् । नेपाली नागरिकताको आधारमा आर्थिक कारोबार गरेको देखिएको छ ।
उनले वीरगन्जमा घर खरिद गरेकी छन् भने जग्गा तथा अपार्टमेन्ट खरिदका लागि पेश्की स्वरुप रकम दिएको अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार बैंक ब्यालेन्स मात्र करिब १ करोड रुपैयाँ रहेको छ । शुद्धीकरण विभाग स्रोतका अनुसार अदालतबाट मुद्दा जितेमा उनीहरुको नेपालमा रहेको करिब ५४ करोड बराबरको चलअचल सम्पत्ति सरकारको नाममा आउने छ ।
