नयाँ जनगणनाअनुसार समावेशी समूहको जनसंख्या प्रतिशत निकाल्न सकस

अड्कियो निर्वाचन विधेयक

फाल्गुन १३, २०८१

राजेश मिश्र

According to the new census, the population percentage of the inclusive group can be calculated

काठमाडौँ — नयाँ जनगणनाअनुसार समावेशी समूहको जनसंख्या प्रतिशत निर्धारण गर्न भइरहेको सकसका कारण प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक अगाडि बढ्न सकेको छैन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७८ को जनगणना समावेशी समूहको जनसंख्या प्रतिशत मागेको तीन महिना पुग्दा पनि उक्त विवरण गृह मन्त्रालयले दिन सकेको छैन ।

निर्वाचन आयोगले तयार पारेको विधेयकको मस्यौदामा २०६८ को जनगणनाअनुसारकै समावेशी समूहको जनसंख्या प्रतिशत राखेको छ । कानुन मन्त्रालयले नयाँ जनगणनाको रिपोर्ट आइसकेकाले त्यसअनुसारको विवरण माग गरेको हो ।

राजनीतिक दलले समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची समावेशी समूहको जनसंख्या प्रतिशतअनुसार नै तयार गरेर आयोगमा बुझाउनुपर्छ । आयोगले सम्बन्धित राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा समावेशी समूहको जनसंख्याअनुसार बन्दसूचीबाट उम्मेदवारलाई निर्वाचित गर्छ ।

कानुन मन्त्रालयका प्रवक्ता सहसचिव कोमलबहादुर खत्री प्रस्तावित निर्वाचन विधेयक तर्जुमा सहमतिको अन्तिम चरणमा रहेको बताउँछन् । ‘समावेशी समूहको जनसंख्याको प्रतिशत आए लगत्तै टुंगिन्छ,’ उनले भने ‘हामीले गृह मन्त्रालयसँग उक्त विवरण माग गरेको हो । त्यो आइसकेको छैन ।’

गृह मन्त्रालयले निर्वाचन आयोगसँग र आयोगले तथ्यांक विभागसँग उक्त विवरण मागेको पनि महिनौँ भइसक्यो । तथ्यांक विभागले २०७८ को जनगणना परिणामअनुसार जातिअनुसारको जनसंख्या र त्यसको प्रतिशत आयोगलाई पठाएको छ । नयाँ जनगणनामा १ सय ४२ जातजातिको पहिचान भएको छ । २०६८ को जनगणनामा १ सय २५ जातजाति भेटिएका थिए । पछिल्लो पटक १७ वटा नयाँ जातजाति थपिएको विभागका प्रवक्ता हेमराज रेग्मीले बताए । आयोगले समावेशी समूहको जनसंख्या प्रतिशत मागेकोमा विभागले जातिगत विवरण पठाएको छ ।

‘नयाँ भेटिएका जात/जाति कुन समावेशी समूहमा राख्नुपर्ने हो, त्यसबारे निर्णय गर्ने निकाय विभाग होइन,’ रेग्मीले भने, ‘उनीहरूको क्लस्टर छुट्टिएपछि समावेशी समूहको प्रतिशत निकाल्न गाह्रो होइन । तर, त्यसबारे निर्णय सरकारले लिनुपर्ने हो ।’ तथ्यांक विभागबाट प्राप्त जातिगत जनसंख्यालाई समावेशी समूहमा आयोगले पनि ढाल्न सकेको छैन । आयोगले पनि जातिगत जनसंख्याकै विवरण गृहमा पठाइदिएको छ । गृह मन्त्रालयले पनि त्यसबारे निर्णय लिन सकेको छैन ।

गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख भरतमणि रिजालले नयाँ जनगणनाअनुसार समावेशी समूहको जनसंख्या प्रतिशत टुंग्याउने विषयमा छलफल भइरहेको बताए । ‘विधेयकको मस्यौदामाथिको काम लगभग सकिएको छ । समावेशी समूहको प्रतिशत राख्नुपर्ने हो । त्यसका लागि विज्ञहरूसँगको छलफलपछि टुंग्याउने प्रयासमा छौं,’ उनले भने ‘साथै विकल्पबारे पनि छलफल गरिरहेका छौं ।’

विभिन्न समावेशी आयोगहरूले अहिले तोकिएकोभन्दा बढी जातिहरूको पहिचान आ-आफ्ना जिम्मेवारीमा रहेको समावेशी समूहमा गरेका छन् । त्यसले पनि समावेशी समूहको प्रतिशत टुंग्याउन समस्या परिरहेको छ । तथ्यांक विभागका प्रवक्ता रेग्मीका अनुसार २०६८ को जनगणनाअनुसार अहिले पनि १ सय २५ जातजातिकै पहिचान भएको भए समावेशी समूहअनुसार जनसंख्याको प्रतिशत निकाल्न समस्या हुँदैनथ्यो ।

तर, नयाँ जनगणनामा जात/जाति थपिएका छन् । अर्कोतिर कतिपय समावेशी आयोगले सम्बन्धित समावेशी समूहमा पहिलेको भन्दा जातिको संख्या बढाएका छन् । त्यसले प्रतिशत निकाल्न विभाग, आयोग तथा मन्त्रालयलाई सकस परेको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समावेशी समूहअनुसारको जनसंख्या प्रतिशत तयार पार्न समय लाग्ने देखिएको बताए । २०८४ को चुनावलाई निर्वाचन विधेयक संसद्को यही अधिवेशनबाट पारित हुनुपर्ने हतारो रहेको उनले उल्लेख गरे । नयाँ जनगणनाअनुसारको जनसांख्यिकी प्रतिशत निकाल्न समय लाग्ने स्थितिमा विकल्पबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे ।

समानुपातिकको बन्द सूचीका लागि आवश्यक पर्ने जनसंख्या प्रतिशतलाई ऐनमा नतोकेर पछि नियमावलीमा तोकेर जाने गरी आयोग र गृह मन्त्रालयबीच छलफल भइरहेको छ । अहिले कानुनमै सममावेशी समूहको जनसंख्या प्रतिशत तोकिएको छ । तर, समावेशी समूहअनुसारका जनसंख्या प्रतिशत निर्धारण गर्नमै ढिला भइरहकोले आयोगले नयाँ निर्वाचन कानुनमा ‘नेपाल सरकारले पछि तोकेअनुसार’ हुने प्रावधान राखेर जान सकिने सुझाएको छ । त्यो प्रावधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि समावेशी समूहको जनसंख्या प्रतिशत पछि सरकारले निर्धारण गर्ने सुविधा पाउनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी आधारमा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । जनसंख्याको प्रतिशतअनुसार खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारू, मुस्लिम, पिछिडिएको क्षेत्र र अल्पसंख्यक समुदायबाट प्रतिनिधित्वको प्रावधान छ । त्यस्तै, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको पनि प्रतिनिधित्वको सुनश्चितता गरिएको छ । त्यसका लागि उनीहरूको जनसांख्यिक उपस्थितिको प्रतिशत कानुनमै निर्धारित छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभासम्बन्धी विद्यमान निर्वाचन कानुनमा २०६८ को जसंख्याअनुसार समावेशी समूहको जनसंख्याको प्रतिशत उल्लेख छ । २०७४ र २०७९ को चुनावमा त्यही आधारमा निर्वाचन परिणाम घोषणा भएको थियो । २०७९ को चुनाव ताका २०७८ को जनगणना परिणाम आइसकेको थियो । तर, चुनावको मुखमा ऐनमा संशोधन गर्नुपर्ने झन्झटलाई हेर्दै आयोगले तथ्यांक विभागलाई नयाँ जनगणनाको विस्तृत विवरण बाहिर नल्याउन आग्रह गरेको थियो । नयाँ जनगणनाको रिपोर्ट आइनसकेकाले पुरानै तथ्यांक अनुसार निर्वाचन प्रक्रिया गर्न आयोगलाई सहज भएको थियो ।

निर्वाचनसम्बन्धी अहिले छरिएर रहेका अलग-अलग ७ वटा कानुनलाई आयोगले एकीकृत गरेर एउटै कानुन बनाउने गरी विधेयकको मस्यौदा तयार पारेको हो । सबै निर्वाचनहरू एउटै कानुनबाट निर्देशित हुने लक्ष्य राखेर ‘निर्वाचन व्यवस्थापन’ कानुनको प्रस्ताव आयोगले गरेको छ । मतादाता नामावली, निर्वाचन(कसुर तथा सजाय), स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा सदस्य निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन तथा राष्ट्रियसभा सदस्य निर्वाचन ऐनलाई एकीकृत गरिएको हो ।

विद्यमान कानुनी व्यवस्थालाई अझ परिस्कृत गरी विधेयकमा प्रशस्तै नयाँ विषयहरू राखिएका छन् । आयोगले २०८० असार १८ मै विधेयकको मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो । गृहमा डेढ वर्षसम्म थन्केको उक्त विधेयक केही महिना अगाडि मात्रै कानुनमा पठाइएको थियो । अहिले कानुनमा अड्किएको छ । कानुनबाट गृहमा फर्केर आएपछि उक्त विधेयक मन्त्रिपरिषद्‍मा र त्यहाँबाट मन्त्रिपरिषद्‍को विधायन समितिको छलफलपछि मात्रै संसद्‍मा जानेछ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully