What you should know
काठमाडौँ — भारतीय राज्य ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि नेपाली विद्यार्थी घर फर्किइरहेका छन् । तर, उक्त विश्वविद्यालयमा कति विद्यार्थी अध्ययनका लागि गएका थिए र घटनापछि कति फर्किए भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन ।
आइतबार साँझसम्म चारवटा नाकाबाट ३ सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । झापाको काँकडभिट्टा नाकाबाट २०, भैरहवाको बेलहियाबाट ३६, विराटनगरको जोगबनीबाट ८३ र वीरगन्ज नाकाबाट १६२ गरी ३०१ विद्यार्थी आइपुगेका हुन् ।
शिक्षा मन्त्रालय हेल्प डेस्कका उपसचिव राजु श्रेष्ठ नै कति विद्यार्थी केआईआईटीमा पढ्न गएका थिए र घटनापछि कति फर्किए भन्नेबारे शिक्षा मन्त्रालयमा तथ्यांक नभएको बताउँछन् ।
उनका अनुसार यस घटनामा अहिलेसम्म एउटा मात्रै गुनासो दर्ता भएको छ । अभिभावकले केआईआईटीको फरक-फरक होस्टलका ब्लकमा बस्ने विद्यार्थीलाई एउटैमा बस्ने व्यवस्था गरिदिन आग्रह गरेको उनले बताए । 'उक्त गुनासो परराष्ट्र मन्त्रालयमा पठाइएको छ,' उनले भने ।
केआईआईटीमा भएको घटनाका विषयमा प्रधानमन्त्री, मन्त्री र सांसदले बोलिरहेका छन् । संसद्मा पनि यो विषयले प्रवेश पाएको छ । सासंद र नेताहरुले याे विषयमा सामाजिक सञ्जालमा पनि केही न केही लेखिरहेका छन् । तर, विश्वविद्यालयको होस्टलमा रहेका र फर्किएका विद्यार्थीको तथ्यांक संकलनमा राज्यले बेवास्ता गरिररहेको छ ।
‘नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) नलिई भारत पढ्न जाने विद्यार्थीको नियमन गर्ने संयन्त्र पनि सरकारसँग छैन । तर, भारतीय शिक्षण संस्थामा नेपाली विद्यार्थीको संख्या अनुमान गर्दा एनओसी नलिई पनि धेरै विद्यार्थी जाने गरेको देखिन्छ ।
नेपाल सरकारको अनुमति लिएर हरेक वर्ष करिब ५ हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारत जाने गरेका छन् । सरकारी अधिकारी नै अनुमति नलिई भारतका शिक्षण संस्थामा पढ्न जाने विद्यार्थीको संख्या त्योभन्दा बढी रहेको बताउँछन् ।
शिक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न मुलुकमा अध्ययन गर्न ६६ हजार विद्यार्थीले एनओसी लिएका छन् । त्यसमध्ये ४ हजार ३ सय ७३ विद्यार्थी भारतका लागि एनओसी लिएका थिए ।
विश्वविद्यालयको होस्टलमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिका कारण विश्वविद्यालय प्रशासनले करिब ८ सय विद्यार्थीलाई होस्टेलबाट निकालेर बसपार्क र रेल्वे स्टेसनमा अलपत्र छाडेको थियो ।
लम्सालको न्यायका लागि नेपाली विद्यार्थीले आवाज उठाउन थालेपछि विश्वविद्यालय प्रशासनले ‘बाउन्सर' र गार्ड प्रयोग गरी कुटपिट गरेको थियो ।
विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाटै भएको दुर्व्यवहारको सर्वत्र निन्दा भइरहेको छ । भारतीय सचेत नागरिक र मिडियाले पनि यसको आलोचना गरेका छन् ।
